काठमाडौं, असोज ३० :

माओवादी केन्द्रका नेता देव गुरुङले सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्नेमा आशंका व्यक्त गरेका छन् । निर्वाचन आयोगले बिहीबार दलहरुसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । माओवादी केन्द्र निर्वाचनमा सहभागी हुन तयार रहेपनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनले बताए। 

सरकारले दलहरुलाई विश्वासको वातावरणमा लिएर निर्वाचन गराउनको लागि कुनै भूमिका नखेलेको उनको आरोप छ । उनले सरकार राजनितिक दलहरुको विरुद्धमा लागिरहेको पनि जिकिर गरे । सरकाले दलहरुको विरुद्धमा प्रतिशोध लिने, बदला लिने, गिरफ्तार गर्ने, मुद्दा लगाउने खालका गतिवधि अगाडी बढाएको उनको भनाई छ । सरकारले निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन गर्छ भन्नेमा शंका पैदा भएको उनले बताए ।

उनले भने, ‘निर्वाचन त हुनुपर्छ भन्ने नै हो । र निर्वाचनमा हामी सहभागी हुन्छौँ भन्नेकुरा पनि हो । निर्वाचन आयोगले निर्वाचनको व्यवस्थापन गर्ने हो । निर्वाचनको आह्वान, निर्वाचनको मिति तोकेर निर्वाचनको आह्वान गरेको छ सरकारले हो । सरकारले निर्वाचनको लागि निष्पक्ष, स्वतन्त्र ढंगले निर्वाचन गर्न सक्ने खालको वातावरण बनाउँछ कि बनाउँदैन भन्नेकुरा कै आशंका पैदा भएको छ । त्यसकारणले गर्दाखेरि सरकारले शान्ति सुरक्षा लगायतका निर्वाचन भयमुक्त रहित वातावरणमा निष्पक्ष र स्वतन्त्र ढंगले निर्वाचन सम्पन्न गराउनको लागि सरकारले भुमिका निर्वाह गर्नुपर्छ । सरकारले दलहरुसँग पनि सबैसँग संवाद गर्दै सबैलाई विश्वासमा लिएर निर्वाचनको वातावरण बनाउनपर्छ । अहिलेसम्मको स्थिति हेर्दाखेरि सरकारले त्यो भूमिका निर्वाह गर्न सकेको देखिँदैन । यद्यपि अस्ति राष्ट्रपति कहाँ केही संवाद त भएको छ । तरपनि सरकारले दलहरुलाई विश्वासको वातावरणमा लिनुको साथै शान्तिसुरक्षा कायम राख्नुपर्छ ।’ उनले सरकारलाई शान्ति सुरक्षा कायम गरेर निर्वाचन गराउने वातावरण बनाउन आग्रह गरे ।