ललितपुर, असोज ३१ :

 नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि बढ्दै गएको छ। बुधबारदेखि ललितपुरको भनिमण्डलमा जारी बैठकमा एकपछि अर्को गर्दै नेताहरूले ओलीको नेतृत्वमा प्रश्न उठाउँदै राजीनामाको माग गर्न थालेका छन्।

शुक्रबार, बैठकको तेस्रो दिन केन्द्रीय सदस्य ठाकुर गैरेले समेत ओलीले अब नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा सार्वजनिक रूपमा राखेका छन्। अध्यक्ष ओलीले पेश गरेको विशेष राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै गैरेले पार्टीको रूपान्तरणको मागलाई नेतृत्वको विरोधको रूपमा नबुझ्न आग्रह गरे।

उनले भने, ‘प्रस्तावलाई पूर्ण गरौँ, सबै कुरा ध्वस्त भएको छ। वाम एकता गरेर बनाएको सरकार पनि ढल्यो, वाम-लोकतान्त्रिक सरकार पनि टिकेन। यस्तो बेला नेतृत्व परिवर्तन अपरिहार्य भएको सन्देश दिन चाहन्छु।’

गैरेले पार्टीमा ठोस विश्लेषणको खाँचो औँल्याउँदै संविधान संशोधन, वाम एकता, सरकारको असफलता जस्ता विषयमा ठोस निर्णय लिन नसकेकोमा पनि आलोचना गरे।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक बिहान साढे ८ बजेबाट सुरु भएको हो।  प्रत्येक सदस्यलाई तीन मिनेटको समय दिइएको छ। बैठकमा सदस्यहरूले राजनीतिक प्रतिवेदनसँगै समसामयिक राजनीति, सरकारका गतिविधि, संविधानको रक्षा, जनअधिकार र संसद पुनःस्थापनाको विषयमा धारणा राखेका छन्।

प्रमुख गौतमका अनुसार केन्द्रीय समिति सदस्य ३५७ र प्रदेश अध्यक्ष १० जना गरी ३६७ जनाले धारणा राखेपछि बैठक सकिने तयारी छ।

एमालेले संसद पुनःस्थापना नै वर्तमान संकट समाधानको एकमात्र सहज बाटो भएको भन्दै त्यसमा जोड दिँदै आएको छ ।
अध्यक्ष ओलीलाई केन्द्रमा राखेर चर्किएको बहसले पार्टीभित्र नेतृत्व परिवर्तनको बहसलाई थप उकास्ने देखिन्छ। बैठकको निर्णयले एमालेको आगामी रणनीति स्पष्ट पार्नेछ।