धनुषा, कात्तिक २ :

नेपाली कांग्रेस धनुषाका जिल्ला सभापति योगेन्द्र पञ्जियारसहित ७ जनाविरुद्ध जिल्ला अदालत धनुषाले ज्यान मार्ने उद्योगअन्तर्गत पक्राउ पुर्जी जारी गरेको छ।

अदालतले शुक्रबार (असोज ३१) सभापति पञ्जियार, उनका छोरा अमर पञ्जियार, क्षिरेश्वरनाथ नगरपालिका–५ का वडाध्यक्ष जिवछ मण्डल, उनका छोराहरू नवल मण्डल र कमल मण्डल धानुक, नवलका छोरा नीरज मण्डल तथा क्षिरेश्वरनाथ–१ रमदैयाका उमेश यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

उनीहरूमाथि क्षिरेश्वरनाथ नगरपालिका–५ का सुशीलकुमार चौधरीले ज्यान मार्ने उद्योगसम्बन्धी जाहेरी दिएका थिए। जाहेरीका आधारमा जिल्ला अदालतले इलाका प्रहरी कार्यालय महेन्द्रनगर, धनुषालाई पक्राउ पुर्जी तामेल गर्न निर्देशन दिएको छ।

प्राप्त जानकारी अनुसार केही समयअघि कांग्रेस र नेकपा एमाले समर्थित स्थानीय नेताहरूबीच भएको कुटाकुट घटनालाई लिएर दुवै पक्षले एकअर्काविरुद्ध जाहेरी दिएका थिए। एमाले पक्षका नेताहरू यसअघि नै अदालतमा उपस्थित भई बयान दिइसकेका छन् भने कांग्रेस पक्ष अदालतमा उपस्थित नभएपछि पक्राउ पुर्जी जारी गरिएको हो।

यसैबीच, वडाध्यक्ष जिवछ मण्डलले पनि एमाले नेताहरू राजदेव चौधरी, सुशील कुमार चौधरी, अनिल कुमार चौधरी, अनिल यादव र अनित यादवविरुद्ध ज्यान मार्ने उद्योगमै जाहेरी दिएका छन्। उनीहरू भने अदालतमा उपस्थित भई बयान गरिसकेका छन्।