
इजरायलमा हमासको आक्रमणमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव स्वदेश ल्याइएको छ।
सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विपिनको शव ल्याइएपछि प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहले श्रद्धाञ्जली अर्पण गरेका छन्।
विमानस्थलमा सरकारी पक्षबाट श्रद्धाञ्जली अर्पणपछि उनको शव कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित घरतर्फ लगिँदैछ । आजै उनको अन्तिम दाहसंस्कार गरिने तयारी भएको छ।
२३ वर्षीय विपिन जोशी अध्ययनको सिलसिलामा इजरायल गएका थिए। २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा आक्रमण गर्दा विपिन बन्धक बनिएका थिए। त्यसपछि उनी सम्पर्कविहीन थिए।
इजरायली अधिकारीहरूले गत असोज २७ गते (अक्टोबर १३) विपिनको मृत्यु भएको पुष्टि गरेका थिए। युद्धविरामपछि बन्दी साटासाटको क्रममा हमासले एक शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो, जुन डीएनए परीक्षणबाट विपिनकै भएको पुष्टि भएको थियो।
इजरायलस्थित नेपाली दूतावासका अनुसार फरेन्सिक परीक्षणमा विपिनको अपहरण गरिएका बेलातिरै मृत्यु भएको देखिएको छ।
नेपाल ल्याउनु अघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक र बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो। सो अवसरमा विपिनको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको थियो।