
फाइल तस्वीर ।
जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ५३ जनाका परिवारलाई जनही १५ लाख रुपैयाँ राहत तथा किरिया खर्च स्वरूप सरकारले रकम निकासा गरेको छ। तीमध्ये ४९ जनाको परिवारले रकम प्राप्त गरिसकेका छन् भने ४ जनाको प्रक्रियामा रहेको गृह मन्त्रालयले जनाएको छ।
यस्तै, आन्दोलनका क्रममा घाइते भएका २,४२९ जनालाई जनही २० हजार रुपैयाँका दरले ४८ लाख ५८ हजार रुपैयाँ भैपरी खर्चस्वरूप वितरण गरिएको छ। झापा, मोरङ, कास्की, सुर्खेतलगायतका जिल्लामा पहिलो चरणमा रकम पठाइएको हो।
सरकारले घाइतेहरूको निःशुल्क उपचारका लागि एक अर्बभन्दा बढी रकम खर्च गरिसकेको जनाएको छ। पुनः उपचारका लागि ‘जेन-जी क्लिनिक’ स्थापना, निःशुल्क आवतजावत, हटलाइन सेवा, र सम्पर्क व्यक्ति तोकिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी छन्। दीर्घकालीन पुनर्स्थापनाबारे पनि छलफल जारी रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
मन्त्रिपरिषद्ले भदौ ३० गते मृतकका परिवारलाई १० लाख राहत र ५ लाख काजकिरिया खर्च दिने निर्णय गरेको थियो। कैदी भाग्ने क्रममा मृत्यु भएकालाई भने राहत नदिइनेछ।
अहिलेसम्म जेन-जी आन्दोलनमा ७६ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमा ३ जना नेपाल प्रहरी, १० जना कैदी, र १ जना विदेशी पनि छन्। १२ जनाको अझै पहिचान खुल्न बाँकी छ।
सरकारले मृतकहरूको विस्तृत विवरण संकलन गर्दै सहिद घोषणा प्रक्रिया अघि बढाइरहेको छ। साथै, ‘जेन-जी जागरण स्मारक पार्क’ निर्माण गर्ने निर्णय कार्यान्वयनमा ल्याइएको छ।