काठमाडौं, कात्तिक ४ :

प्रधानमन्त्री सुशीला कार्कीले अब राजनीतिक दलहरू र जेन–जी आन्दोलनकारीहरूबीच प्रत्यक्ष संवाद हुनुपर्ने प्रस्ताव गरेकी छन्। मंगलबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा उनले यस्तो सुझाव राखेकी हुन्।

प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक संवादको सुरुवात गरिसकेको जनाउँदै अब सबै पक्ष मिलेर चुनावको वातावरण बनाउनुपर्नेमा जोड दिइन्।

‘सुरुमा जेन–जी युवाहरू दलहरूसँग संवाद गर्न इच्छुक थिएनन्,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘अब वातावरण बनिसकेको छ। जेन–जी र राजनीतिक दलहरू खुला रूपमा बसौँ, संवाद गरौँ, स्थिति सामान्य पारौँ र तय भएको मितिमा चुनावतिर अगाडि बढौँ।’

प्रधानमन्त्रीले प्रतिनिधिसभा निर्वाचन तोकिएको फागुन २१ मै भयरहित र स्वतन्त्र वातावरण मा सम्पन्न गर्ने सरकारको प्रतिबद्धता पनि दोहोर्याइन्।

उनका अनुसार, सरकार, मन्त्रीहरू र सुरक्षा निकाय चुनावको तयारीमा अहोरात्र खटिरहेका छन्।

प्रधानमन्त्रीको भनाइमा, सरकार गठनपछिको समय जेन–जी आन्दोलनका घाइतेहरूको उपचार, सहिद परिवारको राहत र आन्दोलन पक्षको आवाज सम्बोधन गर्नमा केन्द्रित भएको हो। अब सरकार चुनावमा पूर्ण रुपमा केन्द्रित हुने उनले स्पष्ट पारिन्।

सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलहरूले पनि चुनावको वातावरण बनाउन आवश्यक पहल गर्न सरकारलाई आग्रह गरेका थिए।