काठमाडौं, कात्तिक ९ :

जेनजी आन्दोलनमा भएको दमन र त्यसपछिका आगजनी घटनामाथि छानबिन गर्न गठन गरिएको आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।

अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा तथा विश्‍वेश्वरप्रसाद भण्डारीविरुद्ध रिट दर्ता गरेका हुन्।

रिट निवेदनमा ढकालले आयोगका पदाधिकारीहरूले छानबिनको विषयमा सार्वजनिक धारणा र दृष्टिकोण प्रकट गरेर पूर्वाग्रहीपन देखाएको आरोप लगाएका छन्। उनले अन्तरिम आदेशमार्फत आयोगका पदाधिकारीहरूलाई काम गर्न रोक लगाउनुपर्ने माग पनि गरेका छन्।

ढकालको रिटमा भनिएको छ, ‘न्यायिक मन प्रयोग गर्नुपर्ने आयोगका पदाधिकारीहरूले घटनाबारे पहिले नै सार्वजनिक रूपमा अभिव्यक्ति दिएकाले उनीहरूबाट पूर्वाग्रहमुक्त रूपमा छानबिन सम्भव छैन।’

जेन–जी आन्दोलनपछि भएको जनधनको क्षतिबारे छानबिन गर्न सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र संयुक्त राष्ट्रसंघीय नियोगमा काम गरेका अधिवक्ता विश्‍वेश्वरप्रसाद भण्डारी सदस्य छन्।

आयोगले हाल आगजनीबाट क्षतिग्रस्त पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा सचिवालय स्थापना गरी काम गरिरहेको छ।