
हिमाली जिल्ला मनाङमा लेक लागेर तीन जनाको मृत्यु भएको छ। मनाङको नार्पाभूमि गाउँपालिकाका विभिन्न स्थानमा घटेका छुट्टाछुट्टै घटनामा तीन जनाले ज्यान गुमाएका हुन्।
जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार मृत्यु हुनेमा तनहुँका ४४ वर्षीय रामबहादुर थापा, नुवाकोटको किस्पाङ गाउँपालिका–१ का ४९ वर्षीय साम्बा घले र लमजुङको क्व्होलासोथर गाउँपालिका–४, भुजुङका ४८ वर्षीय डिलबहादुर गुरुङ रहेका छन्। ती तीनै जना उच्च हिमाली क्षेत्रमा पर्यटकका लागि भारी बोक्ने र पथप्रदर्शक (गाइड) को रूपमा कार्यरत थिए।
तनहुँका थापाको शनिबार राति नार्पाभूमि–२, केरेला होटलमा बास बस्ने क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
त्यस्तै, शनिबार नै नार्पाभूमि गाउँपालिका–४, काङला फेदी क्षेत्रमा लेक लागेर लमजुङका डिलबहादुर गुरुङको पनि मृत्यु भएको हो। करिब ४,५०० मिटर उचाइबाट पर्यटकको सामान बोकेर फर्कने क्रममा बेहोस भएका गुरुङलाई हेलिकोप्टरमार्फत उद्धार गरी पोखरा मणिपाल शिक्षण अस्पताल पुर्याइए पनि उपचारकै क्रममा निधन भएको अस्पतालले पुष्टि गरेको छ।
यसअघि शुक्रबार नार्पाभूमि–४, याकखर्कमा पर्यटकको भारी बोकी फर्कंदा नुवाकोटका साम्बा घलेलाई पनि लेक लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन बस्नेतले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार हाल मनाङको उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढेकाले लेक लाग्ने जोखिम बढेको छ। उनले उच्च क्षेत्रमा जानेहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन्।