काठमाडौं, कात्तिक ११ :

नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले अहिले मुलुक विषम परिस्थितिबाट गुज्रिराखेको बताएका छन् ।
मंगलबार रिपोटर्स क्लबले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा तामाङले जेनजी आन्दोलन पनि अहिले मुलुक विषम परिस्थितिबाट गुज्रिराखेको बताए।

उनले ६ महिनाभित्र निर्वाचन गर्ने भनेर मिति तोकिएर बनेको अन्तरिम सरकारले निर्वाचन हुन्छ या हुँदैन भन्ने अनिश्चयको स्थिति कायमै रहेको बताए । जेन–जी आन्दोलन छोटो समयमा भए पनि यसको उपलब्धि खासै नरहेको उनको भनाइ छ ।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भएको ठाउँमा अहिले सुशीला कार्की प्रधानमन्त्री बनेर आउनेभन्दा अर्को उपलब्धि जेन–जी आन्दोलनबाट लिन नसकिएको तर्क गरे । साथै, नेता तामाङले अब माओवादी केन्द्रले निर्वाचनको विकल्प नदेखेको पनि बताए । तर, सरकारले चुनाव निष्पक्ष हुने, नागरिकहरुले स्वतन्त्र ढंगले निर्वाचनमा भाग लिन पाउने र निर्वाचन शान्तिपूर्ण हुने कुरा नागरिक समाज र राजनीतिक दललाई विश्वास दिलाउन सक्नुपर्ने उनले बताए।

जेन–जीहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी भनिराखेको र उक्त कुरा माओवादीले २० वर्ष पहिलादेखि भन्दै आएको पनि नेता तामाङले बताए । उनले संसद्बाटै यो कुरालाई संवैधानिक हिसाबले हल गरेर संसद् भंग गर्नुपर्नेमा जेन–जीहरुको आन्दोलन हाइज्याक भएर हतारमा संसद् विघटन गरिएको जिकिर गरे ।