
कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की र नेपालका लागि बेलायतका राजदुत रब फेनबीच भेटवार्ता भएको छ ।
आज भएको भेटमा उनिहरुबीच युवा शक्तिलाई आईटीसंग जोडेर रोजगारमुखी बनाउने बिषयमा छलफल भएको छ । राजदुत फेनसंगको भेट फलदायी र प्रभावकारी भएको प्रमुख कार्कीले बताए । नगरपालिकाको डिजिटल आधुनिकिकरण,स्थानीय युवाका लागि रोजगारी सिर्जना र सहकार्यका अवसरबारे कुराकानी भएको कार्कीको भनाई छ ।
नगरपालिकाको समग्र विकासलाई प्राथमिकतामा राख्दै नगरप्रमुख कार्कीको पहलमा नेपालका लागि बेलायतका राजदूत रोब फेनसँग एक प्रभावकारी बैठक सम्पन्न भएको हो ।
यसैबीच कागेश्वरी मनोहरा नगरपालिका र जेनेस सोलुसन प्रा. लि. बीच डिजिटल साक्षरता र कार्यस्थल तत्परता वृद्धि गर्ने उद्देश्यसहित समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ।
बैठकमा सहभागी सरोकारवालाहरूले नगरप्रमुख कार्कीको सक्रिय नेतृत्व र नवीन सोचले कागेश्वरी मनोहरा नगरपालिकालाई प्रविधिमुखी र भविष्य–उन्मुख बनाउने दिशामा महत्वपूर्ण भूमिका खेलेको टिप्पणी गरेका छन्।
हालै भएको सम्झौताअनुसार पाँचवटा १० दिने आईटी तालिम कार्यशालाहरू र तीन महिनाको विस्तारित सिकाइ कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ। यी कार्यक्रमहरूले युवालाई सूचना प्रविधि क्षेत्रमा सीपयुक्त बनाउँदै रोजगारीमुखी अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।
नगरप्रमुख उपेन्द्र कार्कीले युवाशक्ति नै भविष्यको आधार भएको उल्लेख गर्दै आईटीसँग जोडेर युवालाई रोजगारीमुखी बनाउने र अवसरहरू आफ्नै नगरपालिकामै ल्याउने लक्ष्य रहेको बताए। उनका अनुसार, नगरपालिका डिजिटल रूपान्तरणको दिशामा दृढतापूर्वक अघि बढिरहेको छ।
साथै संवाद र पहलका लागि उल्लेखनीय योगदान पुर्याएका जेनेस सोलुसनका सीईओ अञ्जनी फुयाँलप्रति नगरपरिवारले हार्दिक सम्मान र कृतज्ञता व्यक्त गरेको छ।