
सरकारले रिक्त राजदूत पदमा अहिले कुनै नियुक्ति नगर्ने भएको छ । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले अहिलेको सरकार निर्वाचन सम्पन्न गर्नका लागि अन्तरिम समयका लागि गठन भएकाले नयाँ राजदूत नियुक्त नगर्ने बताएका हुन् ।
अहिलेका लागि सम्बन्धित देशका नेपाली दूतावासका दोश्रो तहमा रहेका कर्मचारीहरुबाट दूतावासको कामकारबाही सञ्चालन गरिने उल्लेख गरे । प्रवक्ता खरेलले परिवर्तित सन्दर्भमा राजदूतहरुले खेलेको भूमिकाका साथै कार्यमूल्याङ्कनका आधारमा ११ देशबाट राजदूत फिर्ता गर्नुपरेको बताए ।
त्यस्तै मन्त्रिपरिषद्ले राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधि मण्डलको कतार भ्रमण स्वीकृत गरेको छ । कात्तिक १७ गतेदेखि २० गतेसम्म कतारमा हुने ‘सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलपमेन्ट’मा राष्ट्रपति पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
आगामी मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा आयोजना हुने ९३ औं इन्टरपोलको महासभामा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीर्लाइ सहभागी हुन पनि सरकारले स्वीकृति दिएको छ ।
त्यस्तै वैदेशीक रोजगार, अदालतका मुद्दा व्यवस्थाप, वैदेशिक अध्ययन अनुमति सेवा, अध्यागमन, नागरिकता, सामाजिक सुरक्षा, बन्दिको पहिचान लगाएतका लागि विधुतीय प्रणाली मार्फत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा रहेको तथ्याङ्कमा पहुँच उपलव्ध गराउन सक्ने गरि क्षेत्र तोक्ने निर्णय भएको प्रवक्ता खरेलले बताए।
बैठकले समरजंग कम्पनी कार्यालयलाई गृह मन्त्रालय अन्तर्गत रहने गरि संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति दिने निर्णय पनि गरेको पनि उनले जानकारी दिए ।
यस्ता छन् बुधबारको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
१. संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची २ मा हेरफेर गर्ने। (पदाधिकारी तथा सदस्यको सचिवालयको दरभर्दी घटाइएको)
२. २०८२ मंसिर ६ देखि १३ गतेसम्म पेरूमा आयोजना हुने इन्टरनेसनल ट्रेटी अन प्लान्ट जेनेटिक रिसोर्स फर फूड एण्ड एग्रिकल्चरको ओभर्निङ बडीको ११औँ अधिवेशनमा सहभागि हुन डा. गोविन्द प्रसाद शर्मालाई स्वीकृति दिने।
३. २०८२ मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा आयोजना हुने ९३औँ इन्टरपोल महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई स्वीकृति दिने।
४. राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि २०८२ माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने।
५. देहायका सेवाहरूलाई प्रचलित कानूनले तोकेको सुरक्षा मापदण्ड पूरा गरेको भनी विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीमा रहेको तथ्याङ्कमा पहुँच उपलब्ध गराउन सक्ने गरी सेवा तोक्नेः
– वैदेशिक रोजगार सम्बन्धी
– अदालतका मुद्दा व्यवस्थापनसम्बन्धी
– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति सेवासम्बन्धी
– स्थानीय तहको पञ्जीकरण, नागरिकता, सामाजिक सुरक्षा, राहत तथा विपद् व्यवस्थापन सम्बन्धी
– अध्यागमन सेवासम्बन्धी
– बन्दीको पहिचान, प्रमाणिकरण तथा बन्दीहरूका विवरणसम्बन्धी
६. समरजंग कम्पनी कार्यालयलाई गृह मन्त्रालयअन्तर्गत रहने गरी संगठन तथा व्यवस्थापन संरचना गर्न पूर्ण स्वीकृति दिने।
७. बेल्जियमको ब्रसेल्समा आयोजना हुने नेपाल–युरोपेली संघबीचको संयुक्त आयोगको सोह्रौँ बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा प्रतिनिधिमण्डललाई स्वीकृति दिने।
८. कतारको दोहामा आयोजना हुने सेकेन्ड वल्र्ड समिट फर सोसियल डेभलपमेन्ट कार्यक्रममा २०८२ कात्तिक १७ देखि २० गतेसम्म सहभागी हुन सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने।
९. नेपाली सेनाका एक जना प्रमुख सेनानीलाई महासेनानीमा र एक जना सहायक रथीलाई उपरथीमा बढुवा गर्ने।
१०. २०८२ मंसिर १ देखि ३ गतेसम्म थाइल्यान्डको बैंककमा आयोजना हुने छैटौं सेसन अफ द टोकियो कन्भेन्सन कमिटी/नवौँ सेसन अफ द बैंकक कन्भेनसन कमिटी कार्यक्रममा सहभागि हुन सचिव (शिक्षा) श्री चूडामणि पौडेललाई स्वीकृति दिने।
११. छापाखाना र प्रकाशनसम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने।