काठमाडौं, कात्तिक १३ :

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विद्या तिमिल्सिना र राजन केसीले जेनजी आन्दोलनका क्रममा सभापति शेरबहादुर देउवासहित नेताहरू माथि भएको आक्रमणप्रति पार्टी नेतृत्व मौन बसेको भन्दै कडा आपत्ति जनाएका छन् ।

ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेतृ तिमिल्सिनाले जेनजी आन्दोलनपछि विकसित घटनाबारे छलफल गर्ने उद्देश्यले बैठक बसे पनि सभापति देउवाको स्वास्थ्य लाभको कामना समेत नगरिएकोमा असन्तुष्टि प्रकट गरिन् ।

‘कार्यसम्पादन समितिको बैठक बस्यो, तर सभापतिजीलाई स्वास्थ्य लाभको कामना पनि गरिएन,’ तिमिल्सिनाले भनिन्, ‘हाम्रो भ्रातृ संघ–शुभेच्छुक संघ धेरै छन्, तर सभापति र नेताको संरक्षण गर्न सकेनन् ।’

उनले आन्दोलनका क्रममा देश अशान्त भएको, पार्टी सभापति र केन्द्रीय नेतामाथि कुटपिटसम्म हुने अवस्था आएको उल्लेख गर्दै यस्तो संवेदनशील बेला विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउनु अनुचित भएको बताइन् । तिमिल्सिनाले पार्टी एकता, आगामी निर्वाचन र महाधिवेशनबारे स्पष्ट निर्णय गर्न पार्टी नेतृत्वसँग आग्रह गरिन् ।

यसैबीच, कांग्रेसका अर्का केन्द्रीय सदस्य राजन केसीले पनि जेनजी आन्दोलनका क्रममा कांग्रेस कार्यकर्ताका घरमा भएका आक्रमण र लुटपाटबारे शीर्ष नेताहरूको मूल्यांकन माग गरेका छन् ।

‘छानीछानी कांग्रेस कार्यकर्ताका घर जलाइएका छन्, लुटिएका छन्,’ केसीले भने, ‘यो विषयमा पार्टीका शीर्ष नेताहरूले कसरी हेर्नुभएको छ ? अब हामीले कसरी ऊर्जा पुनः प्राप्त गर्न सक्छौं ?’ उनले पार्टी नेतृत्व परिवर्तनको बहसभन्दा अघि जनताप्रतिको उत्तरदायित्वबारे आत्ममूल्यांकन गर्नुपर्नेमा जोड दिए ।

केसीले २४ भदौमा सभापति देउवामाथि भएको सांघातिक आक्रमणलाई अकल्पनीय र दर्दनाक घटना भएको बताए। उनले मुलुकको विषम परिस्थितिमा संविधानको रक्षा गर्न सफल भएकी राष्ट्रपति समक्ष आभार प्रकट गरे ।