काठमाडौं, कात्तिक १४ :

बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभावले देशभर वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा मोरङको सुन्दरहरैंचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा मापन गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अभिलेखअनुसार सप्तरीको बरमजियामा १४३ मिलिमिटर वर्षा भएको छ, जुन भारी वर्षाको श्रेणीमा पर्दछ। विभागका अनुसार २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा ‘अति धेरै भारी वर्षा’ को सूचीमा राखिन्छ।

जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार मोन्था चक्रवातको असर हाल मधेस र कोसी प्रदेशमा बढी देखिएको छ। तर, बागमतीलगायतका प्रदेशहरूमा पनि यसको आंशिक प्रभावले बदली र वर्षा भइरहेको छ।

कायस्थका अनुसार पछिल्लो २४ घण्टामा धेरै जिल्लामा भारी वर्षा रेकर्ड भएको छ। झापामा ९३.६ मिलिमिटर, उदयपुरमा ९७.६ मिलिमिटर, ललितपुरमा ७२ मिलिमिटर र काठमाडौंमा ४० मिलिमिटर वर्षा मापन गरिएको छ।

विभागका अनुसार बंगालको खाडीमा बनेको ‘मोन्था’ चक्रवात अहिले भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रको रूपमा रहेकाले यसको प्रभाव आज साँझसम्म रहन सक्ने अनुमान गरिएको छ। त्यसपछि मौसम क्रमशः सुधार हुने सम्भावना छ।

हाल देशभर सामान्यदेखि अधिकांश स्थानमा बदली रहेको र कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। लुम्बिनी प्रदेशका केही स्थानमा समेत वर्षा जारी छ भने कतिपय क्षेत्रमा धेरै भारी वर्षा भएको छ।