काठमाडौं, कात्तिक १६ :

निजी अस्पतालका स्वास्थ्यकर्मीले पनि अब सरकारी सरह तलब सुविधा पाउने भएका छन् ।आन्दोलनरत नर्स र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच निजी अस्पतालमा कार्यरत नर्सलगायत स्वास्थ्यकर्मीलाई सरकारी सरह तलब सुविधा दिने सहमति भएको छ।

शनिबार स्वास्थ्य मन्त्रालयमा सम्पन्न वार्तामा मन्त्रालयका अधिकारी, नेपाल नर्सिङ संघका प्रतिनिधि र निजी अस्पताल सञ्चालकबीच ४ खण्डमा २३ बुँदे सहमति भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका छन्। शनिबारको वार्तामा स्वास्थ्य मन्त्री डा. सुधा शर्मा, सचिव डा. विकास देवकोटा, कार्यदल संयोजक डा. श्रेष्ठ, प्रवक्ता डा. बुढाथोकी, नेपाल नर्सिङ संघका प्रतिनिधि, साथै निजी मेडिकल कलेज र अस्पताल सञ्चालकहरू सहभागी रहेका थिए।

उनका अनुसार ठूला अस्पताल र मेडिकल कलेजले कात्तिक १ गतेदेखि नै नर्स, डाक्टर तथा स्वास्थ्यकर्मीलाई सरकारी सरह तलब सुविधा उपलब्ध गराउने सहमति भएको छ। अन्य निजी अस्पतालले भने सोही मितिदेखि सरकारी दरको कम्तीमा ८० प्रतिशत तलब दिनुपर्ने व्यवस्था गरिएको छ।

सहमतिको अर्को प्रावधानअनुसार, सरकारी सरहभन्दा बढी तलब र सुविधा पाइरहेका स्वास्थ्यकर्मीको पारिश्रमिक घटाउन पाइने छैन।

हाल पाँचौं तहका नर्सले न्यूनतम ३४ हजार ७३० रुपैयाँ तलब पाउँछन्, तर निजी अस्पतालका नर्सले १५ हजारसम्म पनि नपाउने गुनासो गर्दै आएका थिए। नेपाल नर्सिङ संघले लामो समयदेखि सरकारी पाँचौं तह सरह सेवा सुविधा माग गर्दै आन्दोलन गरिरहेको थियो। वार्ताको लिखित सहमति आइतबार साँझसम्म औपचारिक रूपमा सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ।