काठमाडौं, कात्तिक १६ :

जेनजी आन्दोलनपछि २४ भदौमा मच्चिएको तोडफोडका क्रममा स्वयम्भूस्थित प्रहरी वृत्तबाट चोरी गरिएको पेस्तोल बिक्री गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार हातहतियार बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको टोलीले पाँच जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौं–१५ मा बस्ने २१ वर्षीय कृष्ण गुरुङ, भगवानपाउका राजन देउला (२५), भारतीय नागरिक अकबर खान (२४), विजेश्वरीका सुमिन शाक्य (२६) र क्षेत्रपाटीमा पसल सञ्चालन गर्दै आएका प्रभात मल्ल (३८) रहेका छन्।

प्रहरी वृत्त, स्वयम्भूका डीएसपी मोहनमणि अधिकारीका अनुसार २४ भदौमा प्रहरी कार्यालयमा तोडफोड हुँदा कृष्ण गुरुङले पेस्तोल लुटेर लगेको थिए।

सो पेस्तोल विभिन्न व्यक्ति हुँदै प्रभात मल्ललाई १ लाख रुपैयाँमा बिक्री गरेको खुलेको छ। बरामद गरिएको पेस्तोलसँगै म्याग्जिन र त्यसमा लाग्ने १५ राउन्ड गोली समेत भेटिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका पाँचै जनामाथि हातहतियार तथा खरखजाना ऐन, २०१९ बमोजिम कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।