
कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जेन–जी आन्दोलनले अहंकारी सत्तालाई ढालेको बताएका छन् । काठमाडौंमा आयोजित विरोधसभामा बोल्दै उनले जेन–जी पुस्ताले इतिहासमै नयाँ मोड ल्याएको दाबी गरे ।
‘जेन-जीले बलिदान दिएर अहंकारी सत्तालाई खरानी बनाइदिएको छ,’ उनले भने, ‘जेन–जीलाई विशेष धन्यवाद दिनुपर्छ । म सलाम गर्दछु ।’उनका अनुसार माओवादी जनयुद्धपछि प्राप्त परिवर्तनलाई दलाल शक्तिहरूले कब्जा गरे ।
‘जनयुद्धपछि गणतन्त्र आयो, तर जनयुद्धमा रगत बगाउनेहरू अपमानित भए,’ उनले भने, ‘किसान, जनजाति, मधेशी र सर्वहारा श्रमिकहरूको अधिकार बेवास्ता भयो ।’चन्दले राज्यसत्ता, बन्दुक र जेलको आडमा मनपरी शासन चलाइएकाले जेन–जी आन्दोलन विस्फोट भएको बताए ।
‘पार्टीहरूले नसकेका काम जेन–जीले गरे । लाखौं युवा सडकमा उत्रिए र अहंकारी सत्ता दुई दिन पनि टिकेन,’ उनले भने, ‘भ्रष्टहरूको सत्ताविरुद्ध जसरी उनीहरूले विद्रोह गरे, त्यसले इतिहासलाई नयाँ मोडमा पुर्यायो । नेपाली संसदीय व्यवस्था असफल भएको प्रमाणित भयो ।’
उनले जेन–जी आन्दोलनलाई अधुरो विजयका रूपमा व्याख्या गर्दै त्यसलाई सफल निष्कर्षमा पुर्याउन सबै पक्ष एकजुट हुनुपर्ने बताए ।