काठमाडौं, कात्तिक २१ :

कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्मा, र एकीकृत समाजवादीका पूर्वमहासचिव घनश्याम भुसालबीच बृहत् वामपन्थी अभियानका लागि सहकार्य गर्ने सैद्धान्तिक सहमति भएको छ।

शुक्रबार बिहान हात्तीवनस्थित चन्द निवासमा भएको भेटवार्तामा वामपन्थी, देशभक्त र समाजवादी शक्तिबीच सहकार्यका लागि समझदारी बनेको भुसालले जानकारी दिए। उनले मुलुकका अन्य समाजवादी शक्तिहरूसँग पनि छलफल गर्ने कुरा भएको बताए । तीन नेताबीच बन्ने मोर्चाको नाम, संरचना र आगामी कार्ययोजनाबारे छलफल भइरहेको छ ।

भुसालका अनुसार हाल देशमा पार्टीहरूको प्रभाव र जनविश्वास घट्दो क्रममा भएकाले वामपन्थी र प्रगतिशील शक्तिबीच सहकार्य अपरिहार्य बनेको छ।

छलफलमा जनार्दन शर्माले आफू र नेता राम कार्कीले अघि सारेको ‘प्रगतिशील अभियान’ लाई बृहत् रूपमा विस्तार गर्नुपर्ने सुझाव दिएका थिए। त्यस क्रममा चन्दले अहिले आफू संयोजक रहेको समाजवादी मोर्चाको औचित्य सकिएको भन्दै नयाँ ढंगले अघि बढ्नुपर्ने धारणा राखे।