काठमाडौं, कात्तिक २३ :

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको काममा ढिलाइ गर्ने ठेकेदारहरूको सम्झौता तत्काल रद्द गर्न निर्देशन दिएका छन्।

आइतबार काठमाडौंमा नेपाल टेलिकमले आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले टेलिकमको काममा ढिलाइ गर्ने वा जनतालाई गुणस्तरीय सेवा नदिने ठेकेदारहरूको सम्झौता तत्काल रद्द गर्न पनि निर्देशन दिएका हुन् । टेलिकमको जिम्मा लिएर काम नगर्ने र बर्षौदेखि अल्झाइराख्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गर्नुपर्ने उनले बताए ।

उनले निजी क्षेत्रले दुई महिनामा बनाउने सक्ने टावर टेलिकमले डेड बर्षसम्म पनि बनाउन नसकेको बिषयमा जवाफ चाहिने बताए । मन्त्री खरेलले आफ्नै खरिद कार्यविधि बनाएर पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिन निर्देश गरे । सञ्चार मन्त्रालयमा आउने ८० प्रतिशत गुनासो नेपाल टेलिकमसंग सम्बन्धीत रहेकाले मन्त्रीसम्म गुनासो आउने अवस्थालाई अन्त्य गर्न पनि उनले निर्देशन दिए ।

टेलिकमको सेवा केवल शहरमा सीमित नहोस् भन्ने लक्ष्य रहेकाले दूरदराजका बस्तीहरूमा पनि फाइबर तथा टेलिफोन सेवा विस्तारका लागि ध्यान दिन उनले टेलिकमको ध्यानकर्षण गराए ।  सो क्रममा मन्त्री खरेलले टेलिकमको फाइबर विद्यार्थी अफर (डेटा अफर) प्रारम्भ गरेका थिए ।