
भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नेपाली कम्युनिस्ट पार्टीसँग समाहित भएको छ । आज राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमबीच रावल नेतृत्वको अभियान समाहित भएको हो।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावललगाएतका नेताहरुलाई पार्टीमा स्वागत गरेका थिए । त्यसअघि बुधबार नै दुई पार्टीबीच सात बुँदे सहमति भएको थियो ।
सहमति अनुसार आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने र महाधिवेशनको मिति तथा स्थान सचिवालयले छिट्टै निर्धारण गरिने उल्लेख रहेको नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश ज्वालाले जानकारी दिए ।
त्यस्तै महाधिवेशनमार्फत एकीकृत पार्टीको संरचना, नीति तथा नेतृत्वलाई संस्थागत गरिने, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता र आत्मनिर्णयको अधिकारको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिएको ज्वालाले बताए ।
त्यसैगरी समाजवाद र सामाजिक न्यायमा आधारित आर्थिक–सामाजिक रुपान्तरण र समृद्धिको अभियानलाई संयुक्त रूपमा अघि बढाउने सहमति दुई पार्टीबीच भएको छ भने मातृभूमि जागरण अभियान अन्तर्गतका सबै तहका कार्यकर्ताहरूलाई नेपाली कम्युनिस्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिमा समायोजन गरिने उल्लेख छ ।
कार्यक्रमलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, सह-संयोजक माधव कुमार नेपाल, नेता झलनाथ खनाल र मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावलले सम्बोधन गर्नेछन् ।
