काठमाडौं, मंसिर २ :

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’का संयोजक दुर्गा प्रसाईं सोमबार राति पक्राउ परेपछि काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ।

उपत्यका प्रहरी कार्यालय रानिपोखरीले काठमाडौं, ललितपुर र भक्तपुरका प्रहरी परिसरहरूलाई सतर्क रहन निर्देशन दिएको छ। निर्देशनअनुसार आज बिहानैदेखि मुख्य सडक तथा संवेदनशील स्थानमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रसाईंका समर्थक तथा नागरिक बचाउ दलले प्रदर्शन गर्न सक्ने आशंकामा तीनै जिल्लामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति बढाइएको छ।

प्रसाईंलाई भक्तपुरस्थित उनको निवासबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले पक्राउ गरेको हो। पक्राउपछि नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले आजै प्रदर्शन गर्ने चेतावनी दिएका थिए, जसपछि सुरक्षा झनै कडा बनाइएको हो।

मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने तयारीमा रहेका प्रसाईंलाई अहिले परिसरको भद्रकालीस्थित हिरासतमा राखिएको छ। उनलाई आजै अदालतमा उपस्थित गराई म्याद लिएर अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ।