जनकपुर, मंसिर २ :

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई कामकाज गर्न दिन माग गर्दै नेकपा एमालेका नेता–कार्यकर्ता मंगलबार जनकपुरधाममा धर्नामा बसेका छन्। 
सात दलले मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक रहेको दाबी गर्दै धर्ना जारी राखिरहेका बेला एमाले पनि आजबाट सडक आन्दोलनमा उत्रिएको हो।

संवैधानिक रूपमा नियुक्त मुख्यमन्त्रीलाई कामकाज गर्न दिनुपर्ने र सर्वोच्च अदालतको अन्तरिम आदेशलाई सम्मान गर्नुपर्ने मागसहित एमालेले जनकचोक र जनक मन्दिर परिसरमा धर्ना सुरु गरेको छ। ‘मुख्यमन्त्रीलाई काम गर्न देऊ, संविधानको रक्षा गर’ जस्ता नारासहित युवाहरूको उल्लेख्य उपस्थिति देखिएको छ।

एमाले महोत्तरीका अध्यक्ष बलिराम यादवले मधेस केन्द्रित दलहरूले संघीयता र संविधानको नाममा प्रदेशमा अराजकता सिर्जना गर्न खोजेको आरोप लगाए। उनका अनुसार, संवैधानिक रूपमा नियुक्त भएको सरकारलाई काम गर्न नदिनु संघीयताको नै विरोध हो।

उता, नेपाली कांग्रेससहित सात दलले भने ९ दिनदेखि मधेश भवनको मुख्य गेटमै धर्ना जारी राखेका छन्। उनीहरूले एमाले नेतृत्वको सरकार संवैधानिक नरहेको र सभामुख रामचन्द्र मण्डलले दलीय दबाबमा गैरजिम्मेवार व्यवहार गरेको आरोप लगाएका छन्।

प्रदेशमा दुई पक्षबीचको राजनीतिक द्वन्द्व चर्कँदै गएसँगै मधेश भवन र जनकपुरका प्रमुख स्थानमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।