काठमाडौं, मंसिर २ :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्  पुन:स्थापनका लागि कानुनी लडाई र सडक संघर्षमा जाने घोषणा गरेका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको विघटित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधि पुनःस्थापनाको विकल्प नभएको भन्दै अदालत र सडक संघर्षमा जाने घोषणा गरे । 

अदालतबाट पुन:स्थापना बाहेक अन्य फैसला गर्ने बाटो नै नभएको भन्दै ओलीले पुन:स्थापन नभए नेपालमा संविधान नै छैन भन्ने बुझ्नुपर्ने तर्क गरे । उनले प्रतिनिधिसभा विघटनदेखि नयाँ सरकार निर्माणसम्मका सबै प्रक्रिया संविधानविरुद्ध, अलोकतान्त्रिक र नियोजित सत्ता कब्जाको परिणाम भएको बताए ।

उनले अहिलेको संवैधानिक सङ्कटलाई साधारण चुनावी बहसमा रूपान्तरण गर्ने प्रयास भइरहेकोप्रति आक्रोश व्यक्त गरे । उनले भदौ २३ र २४ का घटनालाई देश समृद्धितर्फ अघि बढिरहेको संवेदनशील समयमा नियोजित रूपमा अराजक क्रियाकलाप भएको बताए ।

भदौ २४ को घटना कुनै आकस्मिक घटना नभई भदौ २३ कै आतंक र पूर्वतयारीको निरन्तरता भएको उनले टिप्पणी गरे । ओलीले जनेजी आन्दोलनपछि बनेको सरकारको कुनै बैधानिकता नरहेको जिकिर गरे ।

उनले वर्तमान सरकारलाई संविधान विपरीत, जनमत विपरीत र लोकतान्त्रिक मूल्यमान्यता विपरीत बनेको भन्दै स्पष्ट रूपमा खारेज गर्नुपर्ने माग गरे ।