
सरकारले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन मार्फत मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
मन्त्री खरेलले सार्वजनिक गरेका २५ निर्णय यस्ता छन् :
१. २०८२ मङ्सिर २९ देखि पुस ४ गतेसम्म कतारको राजधानी दोहामा आयोजना हुने भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि (UNCAC) को ११ औं सत्र राज्य पक्षहरूको सम्मेलन (COSP-११) मा सहभागी हुन सचिव गोविन्दबहादुर कार्कीलाई स्वीकृति प्रदान गर्ने ।
२.प्रधानमन्त्री तथा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो मन्त्रिपरिषद्को कार्यालय संशोधन) अध्यादेश, २०८२ जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
३. प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने | करिब ५ मिलियन अमेरिकी डलर र स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने करिब २.१ मिलियन अमेरिकी डलर थप अनुदान सहायता स्वीकार गर्ने ।
४. नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पुनर्संरचना गर्न आवश्यक अध्ययन गरी सुझाव पेस गर्न प्रकाशजङ्ग थापा, काठमाडौंको संयोजकत्वमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति, २०८२ गठन गर्ने ।
५.विश्व बैंकबाट दिगो र समावेशी परियोजनाका लागि प्रस्ताव गरिएको ९५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्राप्त गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने।
६. २०८२ मङ्सिर ६ गते साउदी अरेबियाको रियादमा आयोजना हुने अति कम विकसित देशहरूको एघारौं मन्त्रीस्तरीय सम्मेलन (LDCMC11) सहभागी हुन सचिव (उद्योग) श्री कृष्ण बहादुर राउतलाई स्वीकृति प्रदान गर्ने ।
७.जल तथा मौसम विज्ञान विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने।
८.२०८२ मङ्सिर ८ मा भारतको नयाँदिल्ली स्थित राष्ट्रपति भवनमा नवनियुक्त प्रधानन्यायाधीशको शपथ ग्रहण कार्यक्रम र २०८२ मङ्सिर १० मा भारतको नयाँदिल्ली स्थित सर्वोच्च अदालतमा संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन कानून, न्याय तथा संसदीय मामिला मन्त्री माननीय अनिल कुमार सिन्हालाई स्वीकृति प्रदान गर्ने।
९.नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
१०.नेपालमा भिसा नियमित नगरी बसोबास गर्दै आएका ४ जना मलेसियन नागरिकहरूले प्रचलित कानूनअनुसार नेपालबाट प्रस्थान हुने मितिसम्म बुझाउनुपर्ने विलम्ब शुल्क र जरिवाना वापतको सबै दस्तुर मिनाहा गरी नेपालबाट प्रस्थान गराउने ।
११.जापानका लागि नेपालका पूर्वराजदूत डा. मदन कुमार भट्टराईलाई जापान सरकारले प्रदान गर्ने जापानको अर्डर (उदीयमान सूर्य, सुनौलो र चाँदीको ताराको अर्डर)) तथा काठमाडौस्थित जापानी दूतावासको पूर्वकर्मचारी श्रीमती रमा सुन्दरी जोशीलाई जापान सरकारले प्रदान गर्ने Order of Japan (The Order of the Sacred Treasure, Gold and Silver Ray) विभूषण ग्रहण गर्न स्वीकृति प्रदान गर्ने ।
१२.सशस्त्र प्रहरी (चौथो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने।
१३.२०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएका २४२९ जनालाई जनही रु. १५,०००/- तत्काल राहत रकम उपलब्ध गराउने ।
१४.माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकको लागि पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा कायम हुनेगरी अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ मा हेरफेर गर्ने।
१५.सशस्त्र प्रहरी बल, नेपालको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने ।
१६.२०२५ डिसेम्बर २ देखि ४ सम्म दोहामा आयोजना हुने अति कम विकसित देशहरूको दिगो र लचिलो स्नातकोत्तरको लागि महत्वाकांक्षी विश्वव्यापी साझेदारीको स्थापना विषयक उच्चस्तरीय बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव श्री अमृतबहादुर राईलाई स्वीकृति दिने।
१७.दार्चुला जिल्ला साविक धाप गा.वि.स. वडा नं. ४ को सार्वजनिक पर्ति जग्गामध्ये १५-१३-३-२ रोपनी जग्गा दार्चुला भन्सार कार्यालयलाई प्रयोग गर्न स्वीकृति दिने ।
१८.ईन्धन प्रणालीमा वातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदल गरिने सवारी साधनको हकमा तीन वर्षसम्मको लागि ईन्धन प्रणालीमा फेरबदल गर्न छुट दिने ।
१९.२०८२ मङ्सिर १५ देखि १७ गतेसम्म दक्षिण कोरियाको सोलमा आयोजना हुने जनसांख्यिकीय परिवर्तनको सन्दर्भमा हेरचाह प्रणालीलाई रूपान्तरण गर्ने सम्बन्धमा प्राविधिक सहायता सुविधा हेरचाह आन्दोलनको निर्माण कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
२०.नेपाली सेनाका दुईजना महासेनानीहरूलाई सहायक रथी दर्जामा बढुवा गर्ने ।
२१.स्थल सेना वार्ता (LFT)को छैटौं बैठक २०८२ मङ्सिर ३ देखि ५ गतेसम्म काठमाडौँमा आयोजना गर्न स्वीकृति दिने ।
२२.वन तथा वातावरण मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) गर्न पूर्वस्वीकृति प्रदान गर्ने ।
२३.हाल भईरहेको छनोट प्रक्रियाबाट नेपाल वायुसेवा निगमको महाप्रबन्धक नियुक्ति नभएसम्मका लागि सञ्चालक समिति सदस्य अमृतमान श्रेष्ठलाई महाप्रबन्धकको काम, कर्तब्यसमेत गर्ने गरी कार्यकारी सञ्चालकको रूपमा नियुक्त गर्ने ।
२४.मर्चवारी गाउँपालिका, रुपन्देहीको नाम परिवर्तन गरी मर्चवारीमाई गाउँपालिका र केन्द्र वडा नं. ३ रायपुरबाट परिवर्तन गरी वडा नं. ४ खैरा कायम गर्ने ।
२५.शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा. कल्पना कुमारी श्रेष्ठ, नवलपरासीलाई तोक्ने ।