
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दायर गरेको रिट निवेदनमाथिको आज तय भएको सुनुवाइ स्थगित भएको छ।
पाटन उच्च अदालतमा पनि उनको मुद्दा पेसी परेकाले, लामिछानेका कानुन व्यवसायीले बुटवल इजलासमा आजको सुनुवाइ स्थगित गरिदिन अनुरोध गरेका थिए। उक्त निवेदन स्वीकृत भएपछि सुनुवाइ स्थगित भएको जानकारी अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले दिए।
बुटवलस्थित सुप्रिम सहकारी संस्थामा भएको रकम ठगी तथा संगठित अपराध मुद्दामा थुनामामा रहेका रवि लामिछाने र छविलाल जोशीको मुद्दा आजका लागि पेसी तोकिएको थियो। यसअघि कात्तिक २७ गते न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतमा रहेको मूल अभियोग मिसिल झिकाउने आदेश दिएको थियो। सोही मिसिल प्राप्त हुने अपेक्षासहित आजका लागि पेसी तोकिएको थियो ।
कात्तिक २० गतेको सुनुवाइमा पनि यही इजलासले ‘सुरु मिसिल’ मगाउन आदेश दिएको थियो। सर्वोच्चबाट सुरु मिसिल नआए पनि जिल्ला अदालतबाट प्रतिलिपि आएपछि बिहीबार पेसी चढाइएको हो। ।
यसअघि न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले लामिछाने र जोशीको मुद्दा एउटै प्रकृतिको भएकाले एकैसाथ राख्न आदेश गरेको थियो। बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिर बसेर मुद्दा लड्न पाउने मागसहित लामिछानेले दर्ता गरेको निवेदनमा उच्च अदालतले जोशीको फाइल पनि पेस गर्न भनेको थियो। त्यसअघि बुटवल उच्च अदालतले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्न आदेश दिएको थियो।
सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनअनुसार आफ्नो हिस्साको बिगो दाखिला गरिसक्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए।
यो मुद्दामा रविसहितका प्रतिवादीहरूलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो तोकिएको छ। चार बराबर भागमा बाँडिएको उक्त रकममध्ये लामिछानेले आफ्नो हिस्साको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतका रूपमा पेस गरेका छन्। जोशीले पनि त्यति नै परिमाणको जमानत पेश गरेका छन्।