काठमाडौं, मंसिर ४ :

विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगाएतको संघीय संसद् पदाधिकारीले सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण गरेका छन् ।

बिहीबार उनीहरुले संयुक्त रुपमा निर्माणाधीन संसद् भवनको कार्यप्रगतिकाबारेमा जानकारी लिदै निरिक्षण गरेका हुन् । निरिक्षणपछि संघीय संसद् पदाधिकारीहरूले निर्माणाधीन नयाँ संसद् भवनमा केही गतिका साथ काम भइरहेको पाइएको प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधिसभाका सभामुख  घिमिरेले प्रतिनिधिसभा बैठक चैत्र–वैशाखमा सञ्चालन गर्ने गरी निर्माण कार्यलाई अघि बढाउनुपर्ने बताए । राष्ट्रियसभा बैठक तत्काल बस्नका लागि अरु नै प्रवन्ध गर्नुपर्ने देखिएको उनले बताए । सभामुख घिमिरेले समयमा नै निर्माण सम्पन्न भए संसदीय गतिविधिलाई अघि बढाउन सहज हुने धारणा राखे।

त्यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मंसिरभित्र राष्ट्रियसभाको अधिवेशन बोलाउने तयारी भइरहेकाले हालका लागि कृषि समितिको हलबाट सभा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । प्रतिनिधिसभाका लागि तत्कालै हल आवश्यक रहेकाले नयाँ संसद् भवनको निर्माणलाई गतिका साथ अघि बढाउनुपर्ने बताए ।

नयाँ संसद् भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोज १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो। तोकिएको समयमा काम नसकिएपछि पछिल्लो पटक पाँचौँ पटकका लागि २०८२ पुस १६ गतेसम्म म्याद थप गरिएको छ  । सङ्घीय संसद्का दुवै सदन, संसदीय समितिहरू र संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको नयाँ संसद् भवनको संरचना निर्माण भइरहेको छ ।