मोरङ, मंसिर ७ :

एमाले नेता महेश बस्नेतमाथि मोरङमा आइतबार आक्रमणको प्रयास भएको छ। सुनसरीमा आयोजना गरिएको युवा संघ नेपालको कार्यक्रममा सहभागी हुन विराटनगर हुँदै जाँदै गरेका बस्नेतमाथि विमानस्थल क्षेत्रनजिकै आक्रमण प्रयास भएको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपीला दुलालका अनुसार बस्नेत सवार बा १७ च ५९६१ नम्बरको गाडीमाथि आक्रमणको प्रयास भएको छ । तर गाडीमा प्रहार भएको ढुङ्गा हो कि अन्य कुनै वस्तु भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

आक्रमणको प्रयासमा संलग्न रहेको आरोपमा प्रहरीले दुई युवालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिहरू विराटनगर–१ का २५ वर्षीय संजोग गौतम र वडा नम्बर–२ का १९ वर्षीय अर्पित कुवँर रहेका छन्।

बस्नेत विराटनगर विमानस्थल हुँदै सुनसरी जाने भनिएपछि केही युवाहरू विमानस्थल बाहिरै आएर विरोध प्रदर्शनमा उत्रिएका थिए। सोही क्रममा बस्नेत सवार गाडीमाथि आग्रमण भएको थियो । प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइरहेको छ।

पक्राउ परेका दुईजना को हुन् ?

बस्नेतमाथि बेलुनभित्र मसी हालेर प्रहार गर्ने दुई युवक नेपाली कांग्रेस भातृ संगठन आवद्ध भएको खुलेको छ । २५ वर्षीय संजोग गौतम विराटनगरस्थित नेपाल विद्यार्थी संघ महेन्द्र मोरङ क्याम्पसमा इकाई सभापति हुन् भने अर्का १९ वर्षीय अर्पित कुवँर पनि नेविसंघकै विद्यार्थी नेता हुन् ।