म्याग्दी, मंसिर ८ :

म्याग्दीस्थित प्रादेशिक  अस्पताल बेनीमा सुत्केरी सेवा लिनेभन्दा गर्भपतन सेवा लिनेको सङ्ख्या बढी देखिएको छ । यसमा पनि २० वर्षभन्दा कम उमेरमा गर्भवती  हुने र गर्भपतन सेवा लिनेको सङ्ख्यामा बढोत्तरी भएको छ । सरकारले सन् २००२ देखि  गर्भपतनलाई कानुनी मान्यता दिएको थियो भने सन् २०१६ देखि सरकारी स्वास्थ्य सस्थामाहरुमा गर्भपतन सेवालाई निःशुल्क गरेको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले भने, ‘बेनी प्रादेशिक अस्पतालमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक सय ७७  सुत्केरी भए । सोही अवधिमा एक सय ९१  जनाले सुरक्षित गर्भपतन सेवा लिए ।’ उनका अनुसार सुरक्षित गर्भपतन सेवा लिनेमध्ये आठ र सुत्केरी हुनेमध्ये ३१ जना २० वर्ष भित्रका थिए ।

कार्यालयका अनुसार अस्पतालमा चालुआवको २०८२ /०८३ को गत साउनदेखि कात्तिकसम्म सुत्केरी भएका र सुरक्षित गर्भपतन सेवा लिएका तीन सय ७६ मध्ये ३९ जना २० वर्ष मुनिका  थिए ।

यसैगरी आव वर्ष २०८१/०८२ मा सुत्केरी भएका र सुरक्षित गर्भपतन सेवा लिएका एक हजार तीन सय ८४  मध्ये एक सय ९० जना २० वर्ष मुनिका थिए । गत आवमा २० वर्ष मुनिका एक सय ६१ जना सुत्केरी हुँदा सुरक्षित गर्भपतन सेवा लिने सो उमेर समूहका किशोरी तथा युवतीको सङ्ख्या २९ रहेको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०८०/ ८१ मा सुत्केरी हुने र सुरक्षित गर्भपतन सेवा लिने एक हजार चार सय ६५ जनामध्ये २० वर्ष मुनिको सङख्या एक सय ६५ जना थियो । यसैगरी २० वर्ष मुनि गर्भपतन सेवा लिनेको सङ्ख्या ३३ जना थियो भने सो उमेरमाथिका आठ सय ६८ जना थिए ।

पछिल्लो जनगणना अनुसार जिल्लामा प्रजननयोग्य उमेर समूहका महिलाको सङ्ख्या २१ हजार एक सय ८३ जना छ । जिल्लाका ४७ प्रतिशत दम्पत्तीले मात्र परिवार योजनका आधुनिक साधनको प्रयोग गर्ने सूचना अधिकारी सुवेदीले बताए । अझै ५३ प्रतिशत दम्पती  परिवार नियोजनका  आधुनिक साधनको पहुँच बाहिरै छन् ।

प्रजनन स्वास्थ्यका दृष्टिकोणले २० वर्षभन्दा कम उमेरमा गर्भवती  हुने र गर्भपतन सेवा लिने  राम्रो मानिन्न । कानुनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न बन्देज लगाएको छ । परिवार योजनाका साधनको प्रयोग कमी, सुत्केरी हुने भन्दा गर्भपतन सेवा लिनेको सङ्ख्या बढी, २० वर्ष भन्दा कम उमेरमा गर्भवती  र गर्भपतन गराउनेको सङ्ख्या बढ्नु प्रजनन स्वास्थ्यमा  चुनौती थपिएको सूचाङ्क मानिन्छ ।

अस्पतालका प्रमुख डा रविरञ्जन प्रधानले भने ‘सुरक्षित गर्भपतन सेवाको पहुँचसँगै सेवा लिनेको सङ्ख्या बढ्नु सकारात्मक  हो । तर  पटक पटक गर्भपतन गराउनु हुँदैन । २० वर्ष मुनि शारीरिक र मानसिक रुपमा सक्षम भइनसकेका किशोरी गर्भवती हुँदा  प्रजनन स्वास्थ्यमा जोखिम आउँछ । बालबिवाहका कारण शारीरिक र मानसिक रुपमा परिपक्क नभएका युवती तथा किशोरी आमा बन्न र अनिच्छुक गर्भधारण गर्न बाध्य भएका हुन् । यस्तो अवस्था अन्त्य गर्न जरुरी हुन्छ । यसका लागि यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी  र सचेतना आवश्यकपर्छ । ’

उहाँ आधुनिक परिवार योजनाका साधनको प्रयोगदर कम हुनु, सुत्केरी हुने भन्दा गर्भपतन सेवा लिनेको सङ्ख्या बढी हुनु, २० वर्ष भन्दा कम उमेरमा गर्भवती हुनु र गर्भपतन गराउनेको सङ्ख्या बढ्नु  प्रजनन स्वास्थ्यमा  चुनौती थपिएको  बताउँछन् । सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुवेदीले भने,‘बालविवाह घटाउन तीनवटै सरकारले विशेष ध्यान दिनुपर्छ । यौन तथा प्रजनन स्वास्थ्यको महत्वका बारेमा विद्यालय र स्वास्थ्य संस्थाले भूमिका निर्वाह गर्नुपर्छ । १४/१५ वर्षका किशोरीसमेत आमा बनिरहेको अवस्थालाई अन्त्य गर्नुपर्छ ।’

म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक रेखाकौशल रेग्मीले समाजमा विवाहको शैली फेरिए पनि बालविवाह कम नभएको बताउँछन् । उनी भन्छन् ‘बालविवाह असुरक्षित र अनिच्छित गर्भधारणको प्रमुख कारण मेलाजात्रा हो । मेलाजात्राले धेरै किशोरी तथा युवतीको भविष्य बिग्रिएको छ ।’ 
नेपालमा अझै पनि आधा भन्दाबढी अर्थात् ५३ प्रतिशत अनिच्छित गर्भधारण हुने तथ्याङ्क छ ।  अर्काेतर्फ पछिल्ला वर्षमा बीस वर्ष भन्दा कम उमेरमा विवाह दर्ता नहुने,  विवाह दर्ता नभइकन जन्मदर्ता नहुने भएकाले बालबालिकालाई विद्यालय भर्ना गर्न, राज्यले दिने सेवा सुविधा उपभोग गर्न र अन्य सरकारी कागजात बनाउन समस्या हुन थालेको छ ।