
यस वर्षको शरद्याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् ।
विश्वको सातौँ अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।
धवलागिरि हिमाल आरोहणको अनुमति लिएकाबाट १६ लाख ८९ हजार ३० सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ ।
गत वसन्त याममा तीन समूहका २२ पुरुष र आठ जना महिलाले धवलागिरि हिमाल आरोहण गर्ने अनुमति लिएका थिए । सोबापत रु ७१ लाख ७० हजार सात सय ५० शुल्क सङ्कलन भएको विभागले जनाएको छ ।
आरोहण अनुमति लिएका आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर आउने तयारी गरेका इटली आधार शिविरका होटल व्यवसायी समेत रहेका धवलागिरि गाउँपालिका–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताउनुभयो ।
पर्यटन विभागको पछिल्लो विवरणअनुसार चालु यामका लागि नेपालका १० हिमाल आरोहणका लागि ५४ देशका ८८ महिला र दुई सय ७४ जना पुरुषले अनुमति लिएका छन् ।
उनीहरुबाट चार करोड ५२ लाख ४५ हजार आठ सय ४८ आरोहण शुल्क प्राप्त भएको विभागले जनाएको छ ।