काठमाडौं, मंसिर २१ :

आगामी बुधबारदेखि नागढुंगा–नौबिसे मलेखु सडकखण्ड दैनिक ५ घन्टा बन्द हुने भएको छ । उक्त सडक खण्डमा कालोपत्र गर्नुपर्ने भएकाले आंशिक रुपमा सडक बन्द गर्न लागिएको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए । 

काठमाडौंबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेक पोस्ट, मुग्लिनबाट काठमाडौं आउने सवारीसाधन खानीखोला, नौबिसे र जंगेखोला, थाक्रेमा रोक्ने गरी ठाउँ तोकिएको छ । 

नौबिसेबाट मुग्लिनतर्फ जाने सवारीसाधन गल्छी, बैरेनी र मासटारमा रोकिने छ । मुग्लिनबाट नौबिसेतर्फ आउने सवारी साधनलाई मलेखुमा रोकिने योजना कार्यालयले जनायो ।

यस्तै साना तथा मझौला सवारीसाधनले सीतापाइला–रामकोट–भीमढुंगा धार्के सडक, सामाखुसी–टोखा–छहरे–त्रिशुली (विदुर)–गल्छी सडक तथा जरेखेतस्थित त्रिशुली पुलबाट त्रिशुली पारीको बाटो हुँदै घाटबेसीको त्रिशुली पुललाई वैकल्पिक रुटका रुपमा प्रयोग सक्ने ट्राफिक प्रहरीको भनाइ छ ।

उक्त समय अवधिभित्र वैकल्पिक सडकमार्गहरुको प्रयोग गर्न यात्रु र चालकलाई आयोजना कार्यालयले अनुरोध पनि गरेको छ ।अत्यावश्यकीय सवारीसाधन एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शववाहन जस्ता सवारीसाधनहरुको हकमा ट्राफिक प्रहरीबाट सहजीकरण गरिने जनाइएको छ ।