काठमाडौं, मंसिर २३ :

सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्णय गरेको हो ।

मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

प्रवक्ता खरेलका अनुसार उखु कृषकलाई अनुदान रकम प्रति क्विन्टल ७० कायम गर्ने निर्णयसमेत सरकारले गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रस्तावमा यो निर्णय भएको हो ।  

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णय प्रवक्ता खरेलले मङ्गलबार एकसाथ सार्वजनिक गरे।  सरकारले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरु कार्यान्वयन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।

मन्त्री खरेलले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरु कार्यान्वयन गर्न दिपक सुवेदीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको जानकारी दिए । जाँचबुझ आयोगको सदस्यमा शरद अधिकारी र योगेन्द्र नाथ कर्माचार्य रहेका छन् ।

त्यसैगरी कोलम्बो प्लानको नवौ महासचिव पदमा कृषि मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माको उम्मेदवारी मनोनयन गर्न स्वीकृति दिने, नेपाल र मोरिससबीच सम्पन्न दोहोरो करमुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता अन्त्य गर्ने र सिंचाइ व्यवस्थापन कम्पनी लिमिटेड संस्थापना गर्न ऊर्जा मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको प्रवक्ता खरेलले बताए ।

मन्त्रिपरिषदले सन १९७३ मा फिलिपिन्सको मनिलामा आयोजना भएको पहिलो एसियाली एथलेटिक्स च्याम्पिनसिपमा कास्य पदक हासिल गरि नेपाललाई पहिलो अन्तराष्ट्रिय पदक दिलाउने पूर्व म्याराथन धावक एवं ओलम्पियन जीत बहादुर केसीलाई सम्मान स्वरुप नगद २५ लाख रुपैया प्रदान गर्ने निर्णय समेत गरेको छ ।