काठमाण्डौँ , असोज १० :

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दशैँ, तिहार र छठका अवसरमा सुपथ मूल्य जुत्ता पसल सञ्चालनमा ल्याएको छ ।

सङ्घका अध्यक्ष रुद्र न्यौपानेले साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय परिसर कालीमाटी र जडिबुटीस्थित कार्यालय परिसरमा मङ्लबारदेखि नेपाली कम्पनीद्वारा उत्पादित विभिन्न ब्राण्डका जुत्ता तथा चप्पलको पसल सञ्चालनमा ल्याइएको बताउनुभयो ।

पर्व लक्षित गरेर सङ्घले कम्तिमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो। 

उहाँले अहिले साल्ट ट्रेडिङसँग हतारमा सहकार्य गरिएकाले धेरै ठाउँमा पसल सञ्चालन गर्न नसकिएको बताउनुभयो ।

आगामी दिनमा साल्ट ट्रेडिङ सहित सरकारका अन्य सुपथ मूल्य पसल सञ्चालन गर्ने निकायसित पनि सहकार्य गरेर देशैभर पसल सञ्चालन गरिने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।