
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत मार्फत गरिब र विपन्न वर्गलाई धनी बनाउन सरकार लागिरहेको बताउनुभएको छ।
रसुवा जिल्लामा निर्माणाधीन र निर्माण सम्पन्न भएका जलविद्युत् आयोजनाको निरीक्षणका क्रममा आज स्याफ्रु बेँसीमा आयोजित नेपाली कांग्रेसका कार्यकर्ता तथा जनप्रतिनिधिसँगको भेटमा उहाँले गरिब र विपन्न वर्गलाई जलविद्युतको शेयर सुनिश्चित गर्न सरकार लागिरहेको बताउनुभयो ।
“स्थानीयवासीका लागि १० प्रतिशत शेयर भनिएको छ, उक्त शेयरमा गरिब तथा विपन्न वर्गको पहुँच अहिले सम्म पुग्न सकेको छैन, उनीहरूलाई शेयरमा पहुँच पुर्याएर जीवनस्तर उकास्नका लागि सरकारले काम गर्छ,” उहाँले भन्नुभयो ।
रसुवा जिल्लामा मङ्गलबार र बुधबार भएको स्थलगत निरीक्षणका क्रममा मन्त्री खड्काले चालु रहेको ६० मेगावाट माथिल्लो त्रिशूली वान, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र तथा निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनको अभावमा संरचना तयार भई उत्पादन बाँकी रहेको एक सय ११ मेगावाट रसुवागढी र ४२ दशमलव पाँच मेगावाट साञ्जेन जलविद्युत् आयोजना तथा निर्माणाधीन २१६ मेगावाट अपर त्रिशूली- १ जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको थियो ।
निरीक्षणमा रसुवा पुग्नुभएका मन्त्री खड्कालाई चिलिमे जलविद्युत् केन्द्रमा कार्यरत कर्मचारीले कर्मचारीहरूको समस्याका बारेमा जानकारी गराएका थिए ।
यस्तै, पार्टीका नेता तथा कार्यकर्ता र जनप्रतिनिधिले रसुवाको ऊर्जा विकासमा भएका समस्या, सिँचाइका समस्या र भूक्षयको समस्याका बारेमा मन्त्रीलाई जानकारी गराएका थिए ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एवं रसुवाका प्रतिनिधिसभा सदस्य इन्जिनियर मोहन आचार्यले जलविद्युतको प्रचुर सम्भावना बोकेको रसुवामा रहेका जलविद्युत् केन्द्रको उचित प्रयोग गरी रसुवावासी जनतालाई लाभ दिन सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।