ललितपुर, पुस ३ :

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनलाई सफल बनाउन गम्भीर भएर सरकारले काम गरिरहेको बताएका छन् ।

बिहीबार गोरखापत्र संस्थान आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले निर्वाचनका लागि सुरक्षादेखि राजनीतिक दल, युवा लगाएत सवैसँग छलफल गरिरहेको भन्दै निर्वाचनलाई सफल बनाउन गम्भीर भएर सरकारले काम गरिरहेको बताए ।

उनले निर्वाचनलाई उत्सवका रुपमा नभइ महोत्सवका रुपमा सम्पन्न गर्न सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए । मन्त्री खरेलले निर्वाचनका साथै भ्रष्टाचार नियन्त्रण र सुशासनमा समेत सरकारले विशेष ध्यान दिएको बताए ।

पछिल्लो तीन महिनामा ३० वटा बढी भ्रष्टाचारका मुद्दा दर्ता भएको भन्दै उनले विगतका दिनमा प्रभाव र दबाबमा मुद्दा अगाडि नबढ्ने अवस्थाको अन्त्य भएको जिकिर गरे । मन्त्री खरेलले भ्रष्टाचार नियन्त्रणका निकायलाई स्वतन्त्र रुपमा अनुसन्धान गर्न सरकारले कुनै हस्तक्षेप नगरेको स्पष्ट पारे।