काठमाडौं, पुस ४ :

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले नीति तथा कार्यक्रम अघि बढाउँदा विज्ञहरूको सुझावलाई प्राथमिकतामा राखेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री सिन्हाले योजना, प्राथमिकता र नतिजा विश्लेषणबिनै सार्वजनिक खर्च गर्ने प्रवृत्तिका कारण जनतामा असन्तुष्टि बढ्ने गरेको भन्दै नीति तथा कार्यक्रम अघि बढाउँदा विज्ञहरूको सुझावलाई प्राथमिकतामा राखेको बताएका हुन्।

उनले जनतामा निरन्तर असन्तुष्टि बढेकै कारण जेनजी आन्दोलन भएको बताए । आगामी निर्वाचनसम्म सुशासन र सेवा प्रवाहमा ठोस सुधार ल्याई सकारात्मक वातावरणसहित जिम्मेवारी हस्तान्तरण गर्नु वर्तमान सरकारको दायित्व भएको उनले बताए । उनले अबको निर्वाचनमा विज्ञहरुको सुझाव मानेर काम गर्ने जनप्रतिनिधिलाई चयन गर्न आग्रह समेत गरे ।

मन्त्री सिन्हाले पहुँचका आधारमा बजेटमा योजना पार्ने प्रवृत्तिलाई अन्त्य गर्न  सरकारले यस्ता योजना तथा कार्यक्रम कटौती गरेको बताए ।कार्यक्रममा विज्ञहरुले सार्वजनिक खर्चलाई परिणाममुखी, पारदर्शी र जवाफदेही बनाउनुपर्नेमा जोड दिएका थिए ।