
गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गतेको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्ने मूल ध्येयका साथ सरकार अघि बढिसकेको बताएका छन् ।
गृह मन्त्रालय र कोसी प्रदेश सरकारले बुधबार विराटनगरमा आयोजना गरेको निर्वाचन केन्द्रित सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले सुशासन कायम गर्दै शान्ति सुरक्षाको प्रत्याभूतिसहित तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ अघि बढिरहेको बताएका हुन् ।
जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा औँल्याएको विषयप्रति सरकार संवेदनशील भएर काम गरिरहेको उनले बताए। उनले भयरहित निष्पक्ष र शान्तिपूर्ण चुनावको तयारीका लागि सरकारले चालेका कदमहरुमध्ये सुरक्षा गोष्ठी पनि एक भएको धारणा राखे । सरकारले निर्वाचनपूर्व, निर्वाचनको अवधि र निर्वाचनपश्चातका कार्यहरुमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरु बनाएको उनको भनाइ छ ।
बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने शान्ति सुरक्षाको अवस्था अझै सुदृढ नभएकाले चुनावको नाममा अर्को मुढभेड र द्वन्द्वतर्फ अघि बढ्न नहुने बताए। सरकार संयमित भएर निर्वाचन हुने वातावरण भए सवै पक्ष निर्वाचनमा होमिने उनको भनाइ छ ।
मुख्यमन्त्री कार्कीले गैरदलीय सरकारलाई तटस्थ भएर निर्वाचन गराउन आग्रह गरे। सुरक्षाकर्मीलाई उच्च मनोवल बनाउनका लागि आवश्यक साधनस्रोतले सम्पन्न बनाउन गृह मन्त्रालयलाई मुख्यमन्त्री कार्कीले ध्यानाकर्षण गराए ।