काठमाडौं, पुस १६ :

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि आयोग कास्कीका अध्यक्ष गंगाप्रसाद पोखरेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। नक्कली सुकुम्बासीलाई विद्यालयको जग्गा दर्ता गराएको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

अख्तियारका अनुसार पोखरा महानगरपालिका–२६ लेखनाथस्थित सामुदायिक अमरज्योती आधारभूत विद्यालयको ३ रोपनी ३ आना जग्गा भूमि आयोगमार्फत नक्कली सुकुम्बासीको नाममा दर्ता गरिएको पाइएको छ। सो कार्यबाट सरकारी तथा सामुदायिक सम्पत्तिमा गम्भीर हानीनोक्सानी भएको अख्तियारको ठहर छ।

मुद्दामा भूमि आयोग कास्कीका सदस्य तथा कास्कीका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, आयोगका अन्य सदस्यहरू आशबहादुर गुरुङ, उमाकुमारी थापा र सोमबहादुर नेपाली तथा जग्गा प्राप्त गर्ने भीमबहादुर विकलाई प्रतिवादी बनाइएको छ।

अख्तियारले उक्त प्रकरणबाट एक करोड ४० लाख रुपैयाँ बराबरको हानीनोक्सानी भएको दाबी गरेको छ। पोखरेलसहित सबै पदाधिकारीहरू भ्रष्टाचार मुद्दामा तानिएका हुन्।

यसअघि तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र एक विचौलियाबीच भूमि आयोग कास्कीका प्रमुख नियुक्तिमा लेनदेन भएको दाबी गरिएको अडियो सार्वजनिक भएपछि पनि यो विषय थप चर्चामा आएको थियो।