
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले आफ्नो लक्ष्य देशको सुशासन र विकासमै केन्द्रित रहेको बताएका छन् ।
धरान उपमहानगरपालिकाको १२५औँ स्थापना दिवस ‘धरान डे (धरान उत्सव)’ को अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “हाम्रो उद्देश्य देशको सुशासन र विकासमै केन्द्रित छ । मान्छेलाई केन्द्रबिन्दुमा राखेर विकास गर्नुपर्छ । मान्छेलाई विस्थापित गरेर गरिने विकास भ्रम मात्र हो, त्यसैले मान्छेलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा हामीले गम्भीर रूपमा सोच्नुपर्छ ।”
उनले धरानको विकासका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितका लागि काम गर्नुपर्ने बताए । ‘धरान डे’ को अवसरमा आज धरान उपमहानगरपालिकाले सार्वजनिक बिदासमेत दिएको थियो ।
यसअघि पाँच दिनसम्म मनाइँदै आएको धरान स्थापना दिवस यस वर्ष निर्वाचन आचारसंहिताका कारण सीमित कार्यक्रमसहित एक दिन मात्र मनाइएको धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले जानकारी दिए ।
धरान उपमहानगरपालिका–१२ स्थित पब्लिक हाइस्कुलको खेलमैदानमा विभिन्न र्याली र झाँकीसहित मनाइएको थियो ।