काठमाडौं, पुस २१ :

निर्वाचन आयोगले समानुपातिक सूचीमा रहेको त्रुटि सच्याउन राजनीतिक दलहरूलाई पत्राचार गरेको छ । आयोगले इमेलमार्फत दलहरूलाई त्रुटि सच्याउन पत्राचार गरेको हो ।  

आजदेखि दलहरूले यही पुस २७ गतेसम्म आयोगले औंल्याएका त्रुटि सच्याउन सक्नेछन् । उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारले पुस २८ गते समय पाउनेछन् । कसैले फिर्ता लिएमा आयोगले त्यसबारेको जानकारी सम्बन्धित दललाई पुस २९ गते दिइनेछ ।

धेरै जसोको एउटा कलस्टरमा हुनुपर्ने व्यक्तिको नाम अर्को कलस्टरमा रहेको र एकै व्यक्तिको नाम दुई ठाउँमा जस्ता त्रुटि देखिएका छन् ।  नेपाली कांग्रेस र नेकपा एमालेको सूचीमा समेत यस्ता त्रुटि फेला परेका छन् ।

कुनै दलले बुझाएको सूचीमा केही उम्मेदवारको हस्ताक्षर छैन भने पिछडिएको क्षेत्र भनेर नाम राखेका व्यक्तिहरूको नागरिकता हेर्नुपर्ने आयोगले जनाएको छ । विवरण प्रष्ट गर्न र मिलाउन आयोगले दलहरूलाई भनेको छ ।

यही पुस १३ र १४ गते निर्वाचन आयोगमा दलहरूले समानुपातिक तर्फको उम्मेदवारको सूची बुझाएका थिए । आयोगको तालिका अनुसार आगामी माघ २० गते बिहान १० बजेदेखि वेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन हुनेछ । आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ ।