काठमाडौं, पुस २२ :

पछिल्लो समय नेपालका अधिकांश युवायुवतीहरु अवसरको खोजीमा विदेश पलायन भइरहेका छन् । ‘देशमा केही गर्न सकिँदैन अथवा रोजगारीको अवसर नै छैन’ भन्ने भाष्यले हरेक युवायुवतीहरलाई असन्तुष्टिको बाटोतर्फ डोहोर्याउँदै छ । अझ भन्ने हो भने अधिकांश नेपाली युवाहरु स्वदेशमा भविष्य नै देख्दैनन्  । सुन्दर भविष्य बनाउने हो भने सके डलरको देश नत्र खाडी मै भएपनि जानै पर्ने मानसिकताले घेरिएको छ जताततै । 

तर यी सबै परिस्थितिका बाबजुद पनि ‘आफ्नै देशमा केही गर्न सकिन्छ, स्वदेशमै व्यवसायमा लागी आम्दानी गर्दै रमाउन सकिन्छ’ भन्ने उदाहरण बनेकी छन्ः युवा उद्यमी दीक्षा पौडेल । उनी भन्छिन्,  ‘खोज्न जानियो भने  नेपालमै धेरै अवसरहरु छन् । स्वदेशमै आफ्नो सीप र क्षमता लगानी गरेर पनि आम्दानी गर्न सकिन्छ ।’ 
काभ्रे निवासी युवा उद्यमी दीक्षा पौडेल विगत ३ वर्षदेखि ‘लेकबेसी’ ब्राण्डको संस्थाबाट व्यवसायमा लागेर रमाइरहेकी छन् । उनको संस्था तथा यद्योग पनि बनेपामै छ । उनले व्यवसायमा लाग्दै गर्दाको अनुभव तथा नेपालमा व्यवसायको सम्भावनाको अवस्थामा केन्द्रित रहेर उनीसँग सक्रिय न्युजका संवाददाता युवराज विश्वकर्माले कुराकानी गरेका छन् । प्रस्तुत छ, युवा व्यवसायी पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

‘लेकबेसी’कस्तो खालको संस्था हो ? संस्थामार्फत के के गरिरहनु भएको छ ?

–हामीले समाजसेवाको क्षेत्रमा रहेर काम गर्दैगर्दा आफैँपनि समाजमा प्रेरणा बन्नुपर्छ भन्ने सोचाइबाट व्यवसायमा लाग्यौँ ।  सानै स्केलबाट काम शुरु गर्न चाहने युवाहरुको लागि पनि नमुना बनोस् भन्ने हेतुले नाम नै ‘नमुना एग्रोप्रोडक्ट्स’ राखेर एउटा सानो उद्योग २०७९ सालमा रजिस्टर गर्यौँ । यसबाट उत्पादन हुने सामग्रीहरु ‘लेकबेसी’ भन्ने ब्राण्डबाट बजारमा पठाउन थाल्यौँ । हाम्रो उद्देश्य आफू पनि उत्पादन गर्ने साथै हामीसँग जोडिनुभएको अन्य व्यवसायीहरुको सामान पनि बजारमा लाने भन्ने थियो । अहिले सक्रिय रुपमा हामी आफैँ उत्पादन गरिरहेका छौँ । 
हामी कोसिस इन्टरप्राइजेज भन्ने संस्थाबाट चाहिँ पूर्ण रुपमा समाजसेवामा छौँ ।जसबाट सेवामूखी ढङ्गले तालिमहरु सञ्चालन गर्ने, विभिन्न सहयोग तथा सबैखाले सेसल सपोर्टका कार्यहरु गर्ने गरिरहेका छौँ तर व्यवसाय गर्नको लागि चाहिँ सोसल इन्टरप्राइजबाट अलि गाह्रो भयो । उद्योगको प्रोसेसमा हुने कार्यहरु सोसल इन्टरप्राइजबाट गर्न अप्ठेरो परेपछि व्यवसायकै रुपमा अगाडि बढाउन  हामीले यो संस्था दर्ता गर्यौँ र उत्पादन शुरु गर्यौँ । हामी दुई जना मिलेर लगानी गरेका छौँ । दुईजनाले नै समग्र व्यवस्थापनको पाटोहरु सम्हालेका छौं भने हाम्रो कम्पनीमा १० जना कर्मचारीहरु हुनुहुन्छ ।  लप्सीबाट विभिन्न सामग्रीहरु उत्पाद गरी बजारमा लाने काम हामीले गरिरहेका छौँ ।

कस्तो खालको सामग्रीहरु उत्पादन गर्दै हुनुहुन्छ ?
-हाम्रो मुख्य उत्पादन चाहिँ लप्सीमा आधारित छ । लप्सीबाट उत्पादन हुने विभिन्न खाद्य सामग्रीहरु उत्पादन गरेर लप्सीलाई अन्तर्राराष्ट्रिय बजारमा पुर्याउने हाम्रो लक्ष्य हो । हामीले सानैबाट लप्सी चाहिँ नेपालमा मात्र पाइने भनेर पढ्दै आएको कुरा,  यही लप्सीलाई विश्वबजारमा चिनाउने उद्देश्यले लप्सीको विभिन्न सामग्री तयार पारेर बजारमा लागिरहेका छौँ  । लप्सीबाट उत्पादनहुने परम्परागत सामग्रीहरु त छँदै छन् त्यो भन्दा बाहेक चाहिँ हामीले लप्सीलाइ विश्वव्यापी मान्यताप्राप्त चकलेटको आकारमा आधुनिकीकरण गरी विश्वबजारमा पुर्याइरहेका छौँ  । यो चाहिँ हामीले नेपालमै पहिलो पटक लप्सी र चकलेटलाई मिलाएर नयाँ सामान निर्माण गरेका हौँ  । अहिलेको हाम्रो उत्पादन पूर्णरुपमा लप्सीमै केन्द्रित छ ।

संस्थाको उद्देश्य नाफामूखी व्यवसाय हो कि सेवामूखी ?
-हामीले सेवामूखी रुपमा कोसिस इन्टरप्राइजबाट काम गरिरहेका छौँ तर यो लेकबबेसीचाहिँ पूर्ण रुपमा नाफामूखी नै हो । हामीले दुबै संस्थाबाट सँगसँगै कामहरु गरिरहेका छौँ ।

बजारमा पाइने अन्य सामग्रीभन्दा फरक र विशेष के छ ?
-लप्सीको चकलेट त अब हाम्रो पूर्ण रुपमा फरक उत्पादन नै भयो । एकदम गुणस्तर प्याकेजिङ अनि चकलेटम लप्सीको स्वाद राखेर स्वस्थ अनि मिठो सामग्री विश्वमै  नयाँ र विशेष छ । यसलाई विश्व बजारले नै मन पराइदिनु भएको छ । अन्य सामग्रीहरु पनि बजारमा पाइनेभन्दा धेरै सफा र स्वस्थ छ । हामीले मुख्यरुपमा स्वस्थता र गणस्तरीयतालाई प्राथमिकतामा राखेको भएर कसैले खाँदै गर्दा ढुक्क भएर खान मिल्ने वस्तु  उत्पादन गरेका छौँ ।

उत्पादित सामानहरुको गुणस्तरीयता कसरी  कायम गर्नुभएको छ ?

-पहिलो कुरा त हाम्रो संस्था खाद्य विभागबाट स्वस्थता र गुणस्तरीयतामा सर्टिफाइड संस्था हो । हामीले लामो समयसम्म व्यावसायिक हिसाबले कुनै सामग्री उत्पादन गर्दा प्रिजर्भेटिभको प्रयोग चाहिँ केही मात्रामा गर्नै पर्ने हुन्छ तर हामीले प्रयोग गर्ने हरेक सामग्रीहरु खाद्य विभागले तोकेको र सर्टिफाइड भएको हुन्छ ।  अनि हामीले कुन कुन वस्तुहरु कति कति प्रयोग भएका छन् भन्ने कुरा मेन्सन गरेका हुन्छौँ । सबै मेट्रियल्सहरु मापदण्डभित्र रहेरै मिसाएका हुन्छौँ ।

सामान कसरी बजारीकरण गर्नुभएको छ ? स्वदेशमा मात्र हो या विदेशमा पनि निर्यात हुन्छ ?

-केही विदेशी बजारमा पनि हाम्रो सामान पुगिसकेको छ र त्यहाँबाट धेरै मागहरु बढिरहेको छ । तर  हाम्रो उत्पादन नै भर्खर शुरुवाती चरणमा भएर बजारले मागेको जति पुर्याउन भ्याइरहेका छैनौँ । हामी उत्पादन बढाएर विदेशी बजारमा अझ धेरै पठाउने प्रोसेस गरिरहेका छौँ । नेपालमा चाहिँ विभिन्न स्टोरहरुसँग सहकार्य गरेर उपत्यका भन्दा बाहिर पनि पठाइरहेका छौँ । विशेष गरेर उपत्यका भित्र चाहिँ हामीलाई सहज छ । उपत्यकाका विभिन्न स्टोरहरुमा सहजै प्राप्त हुन्छ भने अनलाइनमा लेकबेसीका पेजबाट पनि हाम्रो सामान अर्डर गर्न मिल्छ ।  

अरु कम्पनीको तुलनामा मूल्य कसरी निर्धारण गर्नु भएको छ ?

-हाम्रो सामानको प्राइजचाहिँ बजारमा प्रतिस्पर्धात्मक नै छ । हेर्दा कसैको भन्दा थोरै सस्तो या कसैको भन्दा केही महङ्गो देखिएला । अब स्थानीय स्तरमा बन्ने लोकल सामग्रीहरुको प्राइजभन्दा चाहिँ तुलनात्मक रुपमा केही बढी नै छ । किनकि हामीले सामानको गुणस्तरीयता, प्याकेजिङ, सर्टिफिकेशन लगायतका पक्षहरुलाई एकदम ध्यान दिएर स्वस्थ सामान उत्पादन गरेका छौँ । यसो भन्दै गर्दा बजारमा पााइने अन्य सामाग्रीहरुकै आसपासमा तुलनात्मक मूल्य  छ ।

आम्दानी कस्तो छ ? कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

-अब आम्दानी त व्यवसायमा शुरु मै सोचेको जस्तो हुँदैन । हामीले शुरुवात गरेको जम्मा ३ वर्ष भयो । यसले भर्खर त फल दिन थालेको छ । अहिले हामीले वार्षिक ६० लाखको कारोबार गरिरहेका छौँ । अब यो बढ्दो क्रममा छ । सन्तुष्टीको कुरा गर्नुपर्दा यो एउटा निरन्तर प्रक्रिया भएकोले सधैँ एकनाश हुँदैन । तर आफूले गरेको काम र यसले दिएको नतिजाबाट म असाध्यै सन्तुष्ट र खुसी छु । मिहिनेत गर्दै गइयो भने परिणाम राम्रै हुन्छ भन्ने उदाहरण आफैँ हुन सकेको महसुस  भएको छ ।

आम्दानीबाट प्राप्त रकमलाई कसरी उपयोग गर्नुहुन्छ ? समाजसँग कसरी जोडिनुभएको छ ?

-अब हामीले समाजलाई प्रत्यक्ष रुपमा संस्थाको नामबाट सहयोग गर्ने नभनिएता पनि हामी समाजमा धेरैलाई सजिलो बनाइरहेका छौँ । किसानहरुले उत्पादन गर्ने घरायसी सामग्रीहरुलाई बजारीकरण गर्ने, ससाना व्यावसायीहरु जो सानो लगानीबाट भर्खर व्यवसायमा आउनुभएको छ उहाँहरुलाई हामीसँग जोडेर व्यापारमा सहजीकरण गर्ने आदि गरिरहेका छौँ । तर हामी पनि भर्खरै सानो लगानीबाट अगाडि बढ्दै भएकोले आम्दानी तथा फाइदालाई यही कम्पनीको उत्पादनमा वृद्धि गर्न इन्भेस्ट गरिरहेका छौँ ।

स्वदेशमै बसेर उद्यममा लाग्ने सोचाइ कसरी आयो? कहाँबाट प्रेरित हुनुभयो? यहाँसम्मको यात्राबारे बताइदिनुस् ।

-पहिल्यैबाट नेपालमै केही गर्छु भन्ने चाहिँ थियो तर व्यवसाय नै गरिन्छ भन्ने सोचेकी थिइनँ । सामाजिक सेवाको क्षेत्रमा लागिन्छ होला भन्ने थियो । त्यही क्रममा हामीले कोसिस इन्टरप्राइजेजबाट विभिन्न सेवाका कार्यहरु गरिरहेका थियौँ । विस्तारै हामी आफैँले पनि कुनै व्यवसाय गरेर उदाहरण बन्नुपर्छ भन्ने सोचाइ आयो । अनि अत्यन्तै सानो रकमबाट हामी दुईजना मिलेर शुरु गर्यौँ । आर्थिक समस्या लगायत अन्य चुनोतीहरु धेरै थिए । तरपनि हामीले नेपाल सरकारबाट उपलब्ध हुने विभिन्न महिला उद्यमी सेवाहरुमा जोडिएर, लोनहरु जुटाएर, आम्दानीका रकमहरुलाई पुनः यसैमा लगानी गरेर यहाँसम्म आइपुगेका छौँ । गर्दै गए पछि मिल्दै जाँदो रहेछ । अझैपनि उत्पादनमा वृद्धि गर्न कोसिस गर्दैछौँ ।

समकालीन युवा साथीहरुका लागि के सन्देश दिन चाहनुहुन्छ ? 

-म मेरो अनुभवको आधारमा पनि भन्न सक्छु । मसँग पनि व्यवसाय शुरु गर्ने भन्दै गर्दा कत्तिपनि पैसा थिएन । तर आफूसँग बलियो आइडिया, योजना भयो भने बजारले नै त्यो आइडियाको विकास गराउँदो रहेछ । आफ्नो क्षमता, आफ्नो योजना, आफ्नो आइडियाम आफूलाई चाहिँ क्ल्यारिटी हुनुपर्यो । आफू कन्फ्युजनमा भयो भने चाहिँ अप्ठेरो पर्छ तर आफू आफ्नो आइडियामा क्लियर भयो भने सहयोग गर्ने एजेन्सीहरु पनि धेरै छन् । गर्दै गएसी सबै कुरा मिल्दै जान्छ । नेपालमा खोज्न सकियो भने अवसरहरु धेरै छन् । हामी सधैँभरी सजिलै बाटोमात्र हिँड्न खोज्छौँ तर शुरुवातमा अप्ठेरो भएपनि विस्तारै सबै कुराहरु मिल्दै जान्छ । सम्भावनाहरुको खोजी गरेर नेपालमै केही गर्न सक्यौँ भने देशलाई त राम्रो हुन्छ नै योसँगै आफूलाई पनि आत्मसन्तुष्टी मिल्छ । त्यसैले सकेसम्म विदेशमा गएर आफ्नो श्रम विदेशी भूमीको लागि खर्च गर्नुभन्दा आफ्नै देशमा सम्भावनाहरुको खोजी गरेर मिहिनेत गर्दा राम्रो हुन्छ भन्न चाहन्छु ।