काठमाडौं, पुस २५ :

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान नागरिक सरकारमा रहेर दलीय गतिविधि गर्ने छुट कसैलाई नरहेको बताएका छन् ।

शुक्रबार ललितपुरमा गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले जेनजी आन्दोलनपछि मुलुकलाई निकास दिन नागरिक सरकार गठन भएको भन्दै सरकारमा बस्ने मन्त्रीहरुलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताएका हुन् । सरकार निष्पक्ष भएर प्रस्तुत हुँदा सरकारका कुनै पनि निकायले पक्षधरता देखाउन नपाउने उनले बताए ।

उनले जेनजी युवाको म्यान्डेड अनुसार सुशासन कायम, भ्रष्टाचार अन्त्य गर्दै निर्वाचनको तयारीमा सरकार रहेको धारणा राखे । उनले सरकार निर्वाचनमा होमिइसकेकाले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शङ्का नगर्न सम्बन्धित आग्रह समेत गरे ।

तोकिएको मितिमा निर्वाचन नभएमा देशले सङ्कट सामना गर्नुपर्ने अवस्था आउनसक्ने बताउँदै मन्त्री अर्यालले सुरक्षा निकायको मनोवल उच्च राखेर निर्वाचन सम्पन्न गरिने बताए ।

बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई साधनस्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।