काठमाडौं, पुस २८ :

नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन् । 

उनले प्रतिवेदनमा पार्टीले सुशासनका सवालमा कहाँ–कहाँ चुक्यो भन्ने विषयमा विस्तृत आत्मसमीक्षा गरेका छन्। नागरिकले मत दिएर कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाउँदा पनि जनअसन्तुष्टि समयमै बुझ्न र सम्बोधन गर्न नसकिएको स्वीकार गर्दै उनले बदलिँदो परिस्थितिमा पार्टी नयाँ सोच, मनोविज्ञान र इच्छाशक्तिका साथ अघि बढ्न सक्ने कि नसक्ने भन्ने गम्भीर प्रश्न उठाएका छन्।

प्रतिवेदनमा शर्माले विगतका कमजोरी सुधार्ने १५ बुँदे संकल्प प्रस्तुत गरेका छन्, जसमा के–कस्ता गल्ती भए र ती कसरी सच्याउने भन्ने विषय बुँदागत रूपमा उल्लेख छ। ‘बदलिएको देश/बदल्नुपर्ने कांग्रेसः सद्भाव, सुशासन र समुन्नतिको नवीन यात्रा’ शीर्षकको प्रतिवेदनमा उनले जेनजी आन्दोलनसम्बन्धी धारणा पनि राखेका छन्।

महामन्त्री शर्माले जेनजी आन्दोलनको नेतृत्व गर्ने तथा सहभागी प्रदर्शनकारीले पनि आफ्नो आन्दोलनको आत्मसमीक्षा गर्दै आफ्नो भागको जिम्मेवारी लिनुपर्ने बताएका छन्। ०४२ सालमा सत्याग्रहका क्रममा बम विस्फोट भएपछि नेपाली कांग्रेसले सम्पूर्ण सत्याग्रह स्थगित गरेको उदाहरण दिँदै उनले त्यतिबेलाको नैतिक निर्णयलाई स्मरण गरेका छन्। आजको सन्दर्भमा पनि जेनजी प्रदर्शनकारीले आफ्ना आह्वान, संलग्नता र कर्मअनुसार मात्र जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ।