
काठमाडौं, पुस २९ :
निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूचीमा नाम समावेश गरिएका १७५ जनाले आफ्नो नाम फिर्ता लिएका छन्। निर्वाचन आयोगका अनुसार समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका १७ राजनीतिक दलबाट १७५ जनाले आयोगमा उपस्थित भई नाम फिर्ता गराएका हुन्।
निर्वाचन कार्यक्रमअनुसार राजनीतिक दलहरूले पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका थिए। बन्दसूचीमा नाम परेका कतिपय उम्मेदवारले स्वेच्छाले नाम फिर्ता लिएको जनाइएको छ भने कतिपयले सार्वजनिक आलोचना बढेपछि नाम हटाएका छन्। आयोगका अनुसार बन्दसूची संशोधन तथा नाम फिर्ताको प्रक्रिया तोकिएको निर्वाचन कार्यतालिकाअनुसार अघि बढाइएको छ।