
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहमतिका नाममा हुने जुनसुकै निर्णय पनि विशेष महाधिवेशनकै हलबाट हुनुपर्ने स्पष्ट पारेका छन्।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको समापन सत्रलाई सम्बोधन गर्दै उनले पार्टीभित्र भइरहेको संवाद र सहमतिको अन्तिम निष्कर्ष यहीँबाट सार्वजनिक हुनुपर्ने बताएका हुन्।
महामन्त्री थापाले विशेष महाधिवेशनलाई औपचारिक निर्णयको वैध थलोका रूपमा व्याख्या गरेका छन्। उनले भने, ‘यो विशेष महाधिवेशन हो। यो हलबाट निर्णय गरेर ठिक छ भनेर भनेपछि दुईवटा महामन्त्रीले मान्नुपर्छ।’सहमतिको प्रक्रियालाई प्रतिनिधिमूलक र पारदर्शी बनाउनुपर्नेमा उनले जोड दिए।
थापाले पार्टीभित्र विगतमा गुट निर्माण विचार वा सिद्धान्तभन्दा पनि व्यक्तिगत सुरक्षाका लागि भएको धारणा व्यक्त गरे।
विशेष महाधिवेशनको जोखिम उठाउने क्रममा आफूहरू व्यक्तिगत लाभका लागि नभई पार्टी सुधार र संस्थागत निर्णयका लागि अघि बढेको उनको भनाइ थियो।