काठमाडौं, पुस ३० :

नेपाली कांग्रेसको संस्थापन समूहले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी  कारबाही गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वयसहित विशेष महाधिवेशनमा लागेका पदाधिकारीलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो ।

पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको नेता मीन विश्वकर्माले बताए । कारबाहीमा परेकाहरूले फुकुवाका लागि निवेदन दिनुपर्ने बताएका छन्। बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ-आफ्नो भूमिकामा फर्किन आग्रह गरिएको छ । 

कारबाहीको निर्णयसँगै कांग्रेस अनौपचारिक रुपमा विभाजन भएको छ । पार्टी विभाजन रोक्न भन्दै विभिन्न चरणमा नेताहरूबीच छलफल भएको थियो। उक्त छलफलले पनि निकास निकाल्न नसकेपछि संस्थापन पक्षले एक पक्षिय रुपमा गरेको कारबाहीको निर्णयले विभाजनको रेखा कोरेको हो ।

महामन्त्री विश्वप्रकाश शर्मा सहमतिका लागि पार्टी कार्यालय बोकेर गएको ८ बुँदे प्रस्तावको कुनै सुनुवाइ नभएपछि उनी रित्तो हात फर्कन बाध्य भए ।