
गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको बताएका छन् । आज भूगोलपार्कमा आयोजना गरिएको २८औँ भूकम्प स्मृतिसभामा उनले विपद्को सामना गर्न अन्तरसरकार समन्वय बढाउँदै लैजानुपर्नेमा जोड दिए ।
गृहमन्त्री अर्यालले स्थानीय सरकारबाट भएका प्रयासलाई संस्थागत गर्दै लैजानुपर्ने बताए । ‘आपसी अभ्यास र सिकाइले क्षमता बढाउन सक्छ,’ उनले भने , ‘नागरिक सचेतना र उत्थानशील सहरका आधारभूत सूचकको कार्यान्वयनमा क्षमता बढाउँदै लैजानुपर्छ ।’
काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकारीहरु, महानगरपालिकाका नगर सभा सदस्यहरु, विभागीय प्रमुखहरु, विपद् व्यवस्थापनमा सक्रिय गैरसरकारी तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरु सहभागी थिए । ‘सबै तहका सरकार, सबै नागरिकको तयारीः भूकम्प उत्थानशील नेपाल, अवको जिम्मेवारी’ भन्ने नारासहित दिवस मनाइएको हो ।