
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै सामाजिक सञ्जालको निगरानी बढाइने भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनको प्रचार–प्रसारका क्रममा सामाजिक सञ्जालमार्फत हुन सक्ने मिथ्या सूचनाको प्रवाह, घृणास्पद अभिव्यक्ति र गैरकानुनी गतिविधिहरूको निगरानीलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । सामाजिक सञ्जालको दुरुपयोग गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गर्न गृहमन्त्री अर्यालले निर्देशन समेत दिए ।
निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट यसअघि नै पारित भई कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना बारेमा समीक्षा गरिएको थियो। निर्वाचन सुरक्षा योजना सम्बन्धमा चारवटै सुरक्षा निकायले गरेका तयारी सम्बन्धमा बैठकमा ब्रिफिङ गरेका थिए ।
बैठकले निर्वाचनको कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रहरूलाई सक्रिय बनाउँदै राजनीतिक दल र उम्मेदवारहरूको प्रचार प्रसार र अभियानलाई व्यवस्थित गराउन सुरक्षा व्यवस्थालाई सुदृढ र भरपर्दो बनाउन सबै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने निर्णय समेत गरेको छ।
बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि सहभागी थिए।