
तस्बिर : युवराज बिक/ सक्रिय न्युज
कागेश्वरी मनोहरा नगरपालिका–९ नं का अधिकांश मासु पसलहरूमा म्याद गुज्रिएको, सडेगलेको तथा अस्वस्थ मासु बिक्री भइरहेको फेला परेको छ।
नगरपालिकाको टोलीले बुधबार र बिहीबार गरेको छड्के अनुगमनका क्रममा मासु पसलहरूमा सरसफाइको अभाव, फोहोर वातावरण र म्याद नाघेको मासु बिक्री भइरहेको फेला पारेको हो। अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थाहरू देखिएपछि सम्बन्धित पसलहरूलाई सचेत गराइएको छ।
अनुगमन टोलीले ती मासु पसलहरूलाई ३ देखि ७ दिनभित्र सरसफाइ तथा स्वास्थ्य मापदण्डमा सुधार ल्याउन निर्देशन दिएको छ। तोकिएको समयभित्र देखिएका सबै त्रुटि सच्याएर स्वस्थता र सरसफाइमा ध्यान नदिए कानुनी कारबाही अघि बढाइने चेतावनी पनि दिइएको छ।
नगरपालिकाले आफ्नो क्षेत्रभित्र बिक्री हुने खाद्य सामग्रीहरूको गुणस्तर सुनिश्चित गर्न बुधबारदेखि नगरका सबै वडाहरूमा छड्के अनुगमन अभियान सुरु गरेको जनाएको छ। यो अभियान निरन्तर रूपमा सञ्चालन हुने कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख शान्ता थापाले जानकारी दिइन्।
अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रणका प्रतिनिधि, सम्बन्धित वडाका जनप्रतिनिधि तथा प्रहरीको सहभागिता रहेको थियो। नगरपालिकाले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस्ता अनुगमनलाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।