
सभा सदस्यका लागि आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ सदस्यका लागि आईतबार भएको निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
कोशी प्रदेशबाट नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) गठबन्धनका उम्मेदवार विजयी भएका छन् । खस आर्यतर्फ कांग्रेसका सुनीलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो । दलित समूहमा एमालेका सोमनाथ पोर्तेल सात हजार ४२३ मतभार ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का खेमराज सुन्दासले दुई हजार ३७ मतभार पाउनुभएको आयोगले जनाएको छ । महिला समूहमा पनि गठबन्धनकै एमालेका रोशनी मेचे विजयी भएका छन् । उनले सात हजार १७३ मतभार पाए । निकटतम प्रतिद्वन्द्वी नेकपाकी नमिता न्यौपानेले दुई हजार २६८ मतभार पाए । कोशी प्रदेशमा कुल मतदाता ३६० रहेकामा ३४५ मत खसेका थिए ।
मधेस प्रदेशमा पनि तीन दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यहाँ कांग्रेसका उम्मेदवार रञ्जितकुमार कर्ण एवं धर्मेन्द्र पासवान, लोसपा (हाल जनता समाजवादी पार्टी (जसपा), नेपाल) का महन्थ ठाकुर र एमालेकी रेखाकुमारी झा निर्वाचित भएका हुन् । कर्णले आठ हजार ९३ मतभार प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपाका रामनन्दन प्रसादले एक हजार ३६१ मतभार पाए ।
यस्तै, पासवानले सात हजार ९०४ मतभार प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपाका शम्भु पासवान हजारीले एक हजार ३७६ मतभार पाउनुभएको आयोगले जनाएको छ । ठाकुरले सात हजार ७२५ मतभार प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपाका लक्ष्मण पौडेलले एक हजार ८०५ मतभार पाए । यसैगरी झाले सात हजार २२२ मतभार प्राप्त गर्दा नेकपाका शमीकुमारी अग्रवालले एक हजार ९४४ मतभर प्राप्त गरेका छन् । मधेस प्रदेशमा ३६४ मतदाता रहेकामा ३४१ मत खसेको आयोगले जनाएको छ ।
बाग्मती प्रदेशमा गठबन्धनबाट कांंग्रेसका गीता देवकोटाले छ हजार २३९ मतभारसहित विजयी भएका छन् । प्रतिस्पर्धी नेकपाकी सरोजकुमारी झाले दुई हजार ५२२ मतभार पाए । देवकोटाका प्रतिस्पर्धी नेकपाका प्रेमप्रसाद सापकोटाले दुई हजार ५४१ मत पाएको आयोगले जनाएको छ । बाग्मती प्रदेशमा ३३८ मत रहेकामा ३१८ मत खसेको थियो ।
गण्डकी प्रदेशबाट कांग्रेसका जगत तिमिल्सिनाले पाँच हजार ३३ मतभार प्राप्त गर्दै विजयी भए । प्रतिस्पर्धी नेकपाका कपिल लामाले ९४१ मतभार पाए। महिला समूहमा एमालेकी सम्झना देवकोटा पाँच हजार १४ मतभारसहित विजयी भए भने प्रतिस्पर्धी नेकपाकी गोमा लुइँटेल घिमिरेले ९४१ मतभार पाए । उक्त प्रदेशमा २२८ मतदाता रहेकामा २२३ मत खसेको थियो ।
लुम्बिनी प्रदेशमा गठबन्धनबाट अपाङ्गतातर्फ कांग्रेसका बासुदेव घिमिरे ‘जङ्गली’ र अन्यमा कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका छन् । महिलातर्फ गठबन्धनबाट एमाले उम्मेदवार रामकुमारी झाँक्री विजयी भए । जङ्गलीले पाँच हजार ३२२ मतभार प्राप्त गर्दा प्रतिस्पर्धी नेकपाका सजन विकले एक हजार ६०१ मतभार ल्याए । केसीले पाँच हजार ९७७ मतभार प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपाका बृहस्पति अधिकारीले एक हजार ८३२ मत प्राप्त गरे । यस्तै, झाँक्रीले छ हजाबर ३३० मतभार पाउँदा नेकपाका उम्मेदवार दुर्गा भण्डारीले एक हजार ३६२ मतभार पाए । लुम्बिनी प्रदेशमा २९९ मतदाता रहेकामा २८६ मत खसेको थियो ।
यसैगरी कर्णाली प्रदेशमा गठबन्धनबाट कांग्रेस कर्णाली प्रदेश सभापति ललितजङ्ग शाही र एमालेका मीनासिंह रखाल विजयी भए । शाहीले तीन हजार २७८ र रखालले तीन हजार १४५ मतभारसहित विजयी भए । शाही अन्य र रखाल महिला समूहबाट विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपाबाट बुद्धिप्रसाद शर्माले एक हजार ६३९ र अञ्जु महतरा (शाही) ले एक हजार ७३४ मतभार प्राप्त गरे । कर्णाली प्रदेशमा १९८ मतदाता रहेकामा १९१ मत खसेको आयोगले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा गठबन्धनबाट कांग्रेसका खम्बबहादुर खाती र एमालेका लीला भण्डारी विजयी भए । खातीले तीन हजार ९६९ मतभार प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपाका टिकाराम जैशीले एक हजार ८०५ मतभार पाए । यस्तै, भण्डारीले तीन हजार ८९४ मतभार प्राप्त गर्दा उनका निकतम प्रतिस्पर्धी नेकपाका रोजी बस्नेतले एक हजार ६७६ मतभार पाए । सुदूरपश्चिम प्रदेशमा २२४ मतदाता रहेकामा २२० मत खसेको थियो ।
निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ कायम गरिएको थियो । निर्वाचनमा कांग्रेस नौ, एमाले आठ र लोसपालाई एक गरी तीन दलीय गठबन्धन भएको थियो । लोसपाको मधेस प्रदेशमा मात्र उम्मेदवारी परेको थियो ।