काठमाडौं, माघ १२ :

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेता हरिबोल गजुरेललगायत नेतामाथि गरेको कारबाहीप्रति वरिष्ठ नेता झलनाथ खनालले कडा आपत्ति जनाएका छन्। 

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् गजुरेलसहितका नेताहरूमाथि संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको कारबाहीप्रति आपत्ति जनाएका हुन् ।

आम निर्वाचन २०८२ नजिकिँदै गर्दा मुलुकविरुद्ध भित्री तथा बाह्य प्रतिक्रियावादी शक्तिहरू सक्रिय रहेको उल्लेख गर्दै खनालले यस्तो संवेदनशील समयमा कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने गतिविधि गम्भीर चिन्ताको विषय भएको बताएका छन्।

उनले एकीकरण घोषणा भएको लामो समय बितिसक्दा पनि पार्टीभित्र नेतृत्वदायी समिति गठन हुन नसक्नु, संस्थागत निर्णय प्रक्रिया विकसित नहुनु र सीमित व्यक्तिहरूको इच्छाअनुसार ठूला निर्णय लिइनु गलत दिशा भएको टिप्पणी गरेका छन्। विशेषगरी हरिबोल गजुरेलजस्ता वरिष्ठ नेतालाई स्पष्टीकरणको अवसरसमेत नदिई पार्टीबाट निष्कासन गर्नु असंस्थागत र अधिनायवादी शैलीको उदाहरण भएको खनालको भनाइ छ।

'विभिन्न घटकबाट आएका नेताहरूलाई औपचारिक रूपमा जानकारी नदिई एकैचोटि सञ्चारमाध्यमबाट निर्णय सार्वजनिक हुनु अत्यन्तै आश्चर्यजनक छ,' खनालले भनेका छन्।

यदि नेपाली कम्युनिष्ट पार्टीलाई सच्चा कम्युनिष्ट पार्टीका रूपमा स्थापित गर्न चाहिने हो भने यस्ता कारबाही तत्काल स्थगित गर्नुपर्ने उनको माग छ। साथै, उनले हरिबोल गजुरेललगायत नेतृत्व तहका नेताहरुको आकस्मिक बैठक बोलाई किन यस्ता कदम चाल्नुपर्‍यो भन्ने विषयमा पार्टीभित्र गम्भीर र दोहोरो छलफल गर्न संयोजक प्रचण्डसँग आग्रह गरेका छन्।

पार्टीभित्र अधिनायवादी शैली होइन, सामूहिक नेतृत्व र निर्णय प्रणाली स्थापित गर्नुपर्नेमा जोड दिँदै खनालले यदि यस्तै अवस्था रहिरहे एकीकरण पूरा हुन नपाउँदै पार्टी बिखण्डनतर्फ जाने खतरा बढ्ने चेतावनी दिएका छन्।

पार्टीको निर्णय विपरित सिन्धुली २ बाट प्रतिनिधिसभा सदस्यमा महेश्वर दाहालले उम्मेदवारी दर्ता गरेपछि नेता हरिबोल गजुरेल र महेश्वर दाहाल पार्टीबाट निष्कासनमा परेका छन् ।