काठमाडौं, माघ १२ :

कागेश्वरी मनोहरा नगरपालिकाले नगर क्षेत्रभित्रका बजार अनुगमनलाई निरन्तरता दिएको छ । यसैक्रममा सोमबार वडा नम्बर ७ अन्तर्गत पर्ने वीरेन्द्रचोकदेखि फोर्स बस पार्कसम्मका करिब १६ वटा पसल तथा व्यवसायमा छड्के अनुगमन गरिएको छ।

अनुगमनका क्रममा अधिकांश पसल तथा व्यवसाय सामान्य अवस्थामै रहेको पाइए पनि धेरैजसो खाद्य स्टोर, किराना पसल र डेरीहरू दर्ता तथा नवीकरण बिना नै सञ्चालन भइरहेको पाइएको नगरपालिकाले जनाएको छ । त्यस्ता व्यवसायीहरूलाई ७ दिनभित्र दर्ता तथा नवीकरणको प्रक्रियामा आउन निर्देशन दिइएको छ ।

यस्तै, दुईवटा मासु पसलमा केही दिनदेखि स्टक राखिएको मासु भेटिएपछि तत्काल नष्ट गरिएको छ । केही किराना पसलहरूमा म्याद गुज्रिएका खाद्य सामग्री फेला परेकाले ती सामग्री नष्ट गर्न निर्देशन दिइएको छ भने कतिपय होटलहरूलाई सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ ।

नगर क्षेत्रभित्र उपभोक्ता हित संरक्षण तथा व्यवसायलाई उपभोक्ता–मैत्री बनाउने उद्देश्यले एक सातादेखि सुरु गरिएको छड्के बजार अनुगमनले नगर क्षेत्रका व्यवसायीहरू सतर्क हुन थालेका छन् ।